रक्त क्यान्सर लागेका व्यक्ति र तिनका आफन्तसंग पाटन अस्पतालका डाक्टरहरुको भलाकुसारी
काठमाडौँ, १८ भदौ । भोली ४ सेप्टेम्बर ‘वर्ल्ड ल्युकेमिया डे’ र तीन साता पछि अर्थात २२ सेप्टेम्बरमा ‘वर्ल्ड सीएमएल डे’ ।
रक्त क्यान्सरका बिरामी र तिनका आफन्तहरुलाई यी दिनहरु विशेष नलाग्ने कुरै भएन । ‘यी दिनहरुको सन्दर्भ पारेर केही जनचेतनामुलक कार्यक्रम गर्ने सके झनै सान्दर्भिक पो हुन्थ्यो कि ?’ सोसाइटीका पदाधिकारीहरुले सोचे र तत्काल निर्णय गरे, ‘भदौ १८ गते शनिबारका दिन आफूहरुको उपचार गरेका चिकित्सक र औषधिमा सहयोग गरेको संस्थाका प्रतिनिधिसंग बसेर छलफल गर्ने र केक काट्ने ।’
हो सोही निर्णय अनुसार आज शनिबार, पाटन अस्पतालको तेस्रो तल्लामा रहेको अडिटोरियम हलमा क्यान्सर रोग विशेषज्ञहरु डा. मि पिसाङ लामा, डा ज्ञानकृष्ण कायस्त, डा. अरुण शाहीले सोसाइटीका सदस्य, क्यान्सर लागेका अन्य बिरामी तथा तिनका आफन्तले सोधेका प्रश्नका उत्तर दिई रहेका थिए । उनीहरुले क्यान्सर के हो ? यसबाट जोगिनका लागि के के उपाय अपनाउनु पर्छ ? यसको उपचार कस्तो हुन्छ ? भन्ने विषयमा बताइसकेका थिए ।
यस्तै सोसाइटीले आफ्ना गतिविधि र म्याक्स फाउन्डेशनको तर्फबाट स्वेता अग्रवाल, अस्पतालका फार्मेसी प्रमुख राजकुमार थापाले क्यान्सर रोगका बिरामीलाई दिइने निशुल्क औषधिको सन्दर्भमा जानकारी दिएका थिए ।
‘पहिले पहिले क्यान्सर जटिल रोग मानिथ्यो तर अहिले औषधि उपचारमा भएको विकासका यो रोग पनि उच्च रक्तचाप र मधुमेह जस्तै सामान्य रोग बनिसक्यो,’ कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले भने ।
एक प्रशंगमा उनले चलचित्र क्षेत्रले अहिले पनि मानिसको अकाल मृत्यु हुने अवस्थाको सिन देखाउन परेमा क्यान्सर रोग लागेको व्यक्तिको कथा बुन्ने गरेको भन्दै यसले भ्रम सिर्जना गरेको बताए । ‘क्यान्सर लागेपछि मानिसको मृत्यु भै हाल्छ अर्थात क्यान्सर निको नहुने रोग हो भनेर जसरी प्रस्तुत गरिन्छ । यसलाई अब बदल्न जरुरी छ । क्यान्सर लाग्दैमा मानिसको मृत्यु हुँदैन । स्वस्थ भएर बर्षौ बाँचेको हाम्रैसामु प्रशस्त्र उदाहरण छन्,’ उनले भने ।
कार्यक्रममा सोसाइटीका उपाध्यक्ष कृष्णप्रसाद उपाध्यायले भोलि ४ सेप्टेम्बरमा पर्ने ‘वर्ल्ड ल्युकेमिया डे’ र २२ सेम्टेम्बरमा पर्ने ‘वर्ल्ड सीएमएल डे’को सन्दर्भलाई एकैपटक जोडेर मनाउनका लागि आजको कार्यक्रम राखिएको बताए ।
‘खासमा सेप्टेम्बर महिना व्लड क्यान्सर अवारनेश मन्थ पर्ने भएको हामीले आजैबाट कार्यक्रम सुरु गरेका हौँ । अर्को कुरा सबै दिन सबैलाई फुर्सद नहुन पनि सक्छ त्यसैले तीन साता पछिको सीएमएल डेको पनि आज नै केक काटेर सुरुवात गरेका हौँ,’ उनले भने ।
अन्तरक्रिया कार्यक्रममा कार्यक्रममा क्यान्सर उपचाररत व्यक्ति र तीनका परिवारले रोगको बारेमा चिकित्सकहरुसंग परामर्श लिएका थिए ।
सोसाइटीका कोषाध्यष शोभा कार्कीले व्लड क्यान्सरको बारेमा जनचेतना जगाउन तथा उपचार अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको बताईन् ।
कार्यक्रममा म्याक्स फाउन्डेशनकी स्वेता अग्रवालले पाटन अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट क्यान्सरका विरामीका लागि दिइने गरेको निशुल्क औषधि सेवाको बारेमा बताएकी थिईन ।
म्याक्स फाउन्डेशनले रक्तक्यान्सर, पेटको क्यान्सर, फोक्सोको क्यान्सर लगायतका बिरामीका लागि महंगा महंगा औषधिहरु निशुल्क उपलव्ध गराउँदै आएको छ । अहिले पाटन र भरतपुरबाट गरी २ हजार बढी बिरामीले नियमित रुपमा निशुल्क औषधि लिईरहेका छन् ।
कार्यक्रमको अन्तिममा भने आयोजकले आगामी २२ तारिखमा पर्ने वर्ल्ड सीएमएल डेको सम्झना गर्दै ल्याइएको ठूलो केक टेवलमा राखे । सो केक आफूहरुको उपचार गर्ने डाक्टरहरुमध्ये उपस्थित रहेका तीन जनालाई संगै राखेर काटन लगाए । केकमा लेखिएको थियो, ‘United in community and purpose towards a cure for CML’
सम्पर्क इमेल : [email protected]