विशेषज्ञ नर्सको लाइसेन्स लिन परीक्षा दिन नपर्ने
काठमाडौँ, ८ भदौ । नेपाल नर्सिङ परिषद्ले विशेषज्ञ नर्सिङको रुपमा नाम दर्ता गर्नका लागि परीक्षा दिन नपर्ने यस अघिकै व्यवस्थालाई निरन्तरता दिएको छ ।
चिकित्सा तथा पव्लिक हेल्थ तर्फ विशेषज्ञता हासिल गर्नका लागि योग्यता पुगेका विज्ञहरुले लिखित परीक्षा उत्तीर्ण गरेपछि मात्रै विशेषज्ञको रुपमा नाम दर्ता (लाइसेन्स) प्राप्त गर्दछन् ।
काउन्सिलले बुधबार जारी गरेको सूचनामा तोकिएको योग्यता पुरा गरेका नर्सहरुले आगमी १ असोज देखि विशेषज्ञ नर्सिङ रुपमा नाम दर्ता गरी पाउँ भनेर अनलाइन फारम भरेमा रजिष्ट्रेसन समितिले त्यसबारेमा छलफल गरी उपयुक्त ठहरिएमा नाम दर्ता हुने उल्लेख छ ।
परिषद्को गत १ भदौमा बसेको बैठकले नेपाल नर्सिङ परिषद नियमावली २०६५ को नियम ३.३ बमोजिम योग्यता (उपाधि) हासिल गरेका व्यक्तिहरुले विशेषज्ञ लाइसेन्सका लागि अनलाइन फारम भर्न सक्ने भनेको छ ।
काउन्सिल अध्यक्ष प्राध्यापक सरला केसीले अघिल्लो कमिटिले विशेषज्ञका लागि लिखित दिनुपर्ने कुरा उठाएको भएपनि विज्ञहरुलाई प्रमाणपत्रका आधारमा विशेषज्ञ नर्सको रुपमा नाम दर्ता गर्ने निर्णय भएको बताईन् ।
परिषद्की सदस्य मनकुमारी राईले स्वदेशीको हकमा प्रमाण पत्र र विदेशी कलेजबाट पास गर्नेहरुको हकमा समकक्षताको प्रमाणपत्र हेरेर निर्णय हुने गरेको बताईन् । ‘परीक्षा लिने कि भन्ने चर्चा पनि चलेको थियो तर अहिलेलाई प्रमाणपत्रकै आधारमा नाम दर्ता गरिदिने निर्णय भयो,’ उनले भनिन् ।
त्यसो त परिषदले यसअघि विशेषज्ञ नर्सका लागि दुईपटक फारम खुलाएको थियो । त्यसमा छुटेका र योग्यता पुरा गरेका नर्सहरुका लागि पुन: अवसर दिन लागिएको परिषदले स्पष्ट पारेको छ ।
सम्पर्क इमेल : [email protected]