कुटपिटको घटना बुझ्न जुम्ला पुग्यो चिकित्सक संघको टोली, सरोकारवालासंग छलफल गर्दै
काठमाडौँ, ६ भदौ । नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि भएको कुटपिटको विषयमा जानकारी लिन तीन सदस्यीय प्रतिनिधि जुम्ला पठाएको छ ।
संघका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्की, महासचिव डा बद्री रिजाल र कोषाध्यक्ष डा प्रकाश बुढाथोकीको टोली आइतबार जुम्ला पुगेको हो ।
टोलीले घटनाको विषयमा प्रतिष्ठानका पदाधिकारी र आक्रमणमा परेका डाक्टरसंग जानकार लिएको छ ।
यस्तै उनीहरुले जुम्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई सरकारले हालै ल्याएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) ऐन २०७९ का विषयमा रहेको व्यवस्थाका विषयमा जानकारी दिँदै कानुन कार्यान्वयन गर्ने विषयमा ध्यानाकर्षण गराएका छन् ।
गत विहीबार प्रतिष्ठानको आकस्मिक कक्षमा काम गरिरहेका डा साहमाथि प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले आक्रमण गरेका हुन्। शाहीले डा साहलाई मुक्का र लात्ती हानेका थिए ।
प्रतिष्ठानले कुटपिट गर्ने कर्मचारी शाहीलाई ४५ दिनको निलम्बन गरेको छ। शाही अहिले प्रहरी नियन्त्रणमा छन् ।
सम्पर्क इमेल : [email protected]