डब्लुएचओले नेपाललाई दियो ८० लाख कोभिडविरुद्धको सुई
काठमाडौँ, ५ भदौ । नेपालको राष्ट्रिय कोभिड – १९ खोप अभियानलाई नजिकबाट सघाउँदै आईरहेको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले पछिल्लो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८० लाख सिरिन्ज (सुई) सहयोग गरेको छ ।
डब्लुएचओले गत बिहीबार उक्त परिमाणको सिरिन्ज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको हो ।
डब्लुएचओ नेपाल प्रतिनिधि डा राजेश सम्भाजी राव पाण्डव नेतृत्वको टोलीले विहीबार स्वास्थ्य सेवा विभाग पुगेर सिरिन्ज हस्तान्तरण गरेको हो । विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, व्यवस्थापन शाखाका निर्देशक डा रुद्र मरासिनी उक्त परिमाणको सिरिन्ज स्विकार गरेका थिए ।
विभागले डब्लुएचओबाट प्राप्त सिरिन्ज कोभिडविरुद्धको खोप अभियानका लागि देशभर पठाउने बताएको छ । विभागले ठूलो परिमाणमा सिरिन्ज उपलव्ध गराई डव्लुएचओले महत्वपूर्ण सहयोग गरेको उल्लेख गरेको छ ।
पछिल्लो पटक कोभिड १९ को संक्रमण बढी रहेका बेला सरकारले खोप नलगाएका आम सर्वसाधारणलाई लगाउन, पूर्ण मात्रा लगाउन र बुस्टर डोज समेत लगाउन आव्हान गरेको छ ।
डव्लुएचओका अनुसार कोभिडविरुद्धको खोपले कोभिड -१९ का कारण हुने गम्भीर रोग तथा मृत्युबाट बचाउँछ ।
सम्पर्क इमेल : [email protected]