एनएमए नेशनल हेल्थ समिट २०२२ आगामी असोजमा हुँदै

100
Shares

काठमाडौँ, ५ भदौ । नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) आगामी असोजको २ र ३ गते काठमाडौँमा हुने भएको छ । स्

संघले यो वर्ष ‘पोस्ट प्यान्डेमिक एचिभ्मेन्टस्, च्यालेन्जेज एन्ड अपर्चुनिटी’ अर्थात महामारीपछिको उपलब्धि, चुनौती र अवसर विषयमा केन्द्रित रहेको राष्ट्रिय सम्मेलन गर्न लागेको हो । संघका अनुसार सम्मेलन काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा हुनेछ ।

सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल हुने छ । यो पटक ‘सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर’, ‘महामारीले चिकित्सा शिक्षामा पारेको असर र अवसर’, ‘संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि’, ‘महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर’, ‘खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण,’ ‘नेपालमा मेडिकल टुरिजम’ र ‘चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा’ विषयमा छलफल हुने छ ।

जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए ।

अध्यक्ष डा कार्कीका अनुसार सम्मेलनमा विज्ञहरुसँग अन्तरक्रिया गरी निस्कने निचोडलाई कार्यपत्र बनई सरकारलाई सुझावको रुपमा पेस गरिने छ । ‘यो सम्मेलनमा विभिन्न विषयहरुमा गहन छलफल हुनेछ,’ उनले भने. ‘छलफलबाट आएका सुझावहरुलाई हामीले स्वास्थ्य मन्त्रालयलाई नीतिहरु बनाउन र अन्य सुधारका लागि दिने छौं ।’

दोस्रो सम्मेलनका लागि संघले आयोजक समिति बनाएर काम अगाडि बढाइसकेको छ । संघका पूर्व अध्यक्ष अञ्जनीकुमार झाको अध्यक्षतामा गठित आयोजक समितिमा संघका अध्यक्ष डा लोचन कार्की, महासचिव डा बद्री रिजाल, डा एन्जल मगर र डा चन्दा कार्की छन् ।

डा चन्दा कार्की सम्मेलनको वैज्ञानिक समिति अध्यक्ष हुनुहुन्छ । डा कार्कीको नेतृत्व रहेको वैज्ञानिक समितिमा डा सन्ध्या चापागाईं, डा अनुपमा कार्की, डा अनुपमा सुवाल, डा कृष्ण अग्रवाल, डा सरोजा कार्की पाण्डे, डा सुमनराज ताम्राकार, डा पवनकुमार हमाल, मिलनचन्द्र खनाल, डा सुजित भुषाल र डा अलिस्का निरौला छन् ।

सम्मेलनको सल्लाहकार समितिमा डा रमेशकान्त अधिकारी, डा केदारनरसिंह केसी, डा किरण रेग्मी, डा कुसुम थापा र डा मिता सिंह छन् ।

सम्मेलनका लागि डा बद्री रिजालको अध्यक्षतामा रिसेप्सन र रजिष्ट्रेसन समिति, डा अनिलविक्रम कार्कीको अध्यक्षतामा फन्ड रेजिङ समिति र डा प्रकाश बुढाथोकीको अध्यक्षतामा प्रचारप्रसार समिति गठन भएको छ ।

सम्मेलनमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजिराव पाण्डवले पनि विशेष धारणा राख्नेछन् ।

सम्मेलनका लागि आवेदन खुला
संघले सम्मेलनमा सहभागी हुनका लागि आवेदन समेत खुला गरेको छ । संघले अनलाइन र संघको कार्यालयबाट आवेदन दिन सक्ने गरी आवेदन खुला गरेको हो । सम्मेलनमा सहभागी हुनका लागि ५००, १००० र १५०० शुल्क तोकिएको छ ।

संघले यसअघि गत वर्ष असोजमा गरेको पहिलो राष्ट्रिय सम्मेलन कोभिड महामारीका कारण हाइब्रिड ‘भर्चुअल र भौतिक उपस्थिति दुवै” भएको थियो ।

गत वर्षको सम्मेलनमा विभिन्न १२ बुँदे घोषणा सार्वजनिक भएको थियो । पहिलो सम्मेलनमा संघीयातामा माहामारीको पुर्वतयारी र व्यवस्थापनको अवस्था, महामारीमा जनशक्ति तथा सेवा प्रवाहको अवस्था, कोरोना विरुद्धको खोप कार्यक्रममा सरकारको रणनीति, महामारीमा बहुक्षेत्रीय प्रतिक्रिया अवसर, चुनौती र महामारीबाट सिक्नुपर्ने पाठ, महामारीको पूर्वतयारीमा आउने नयाँ अवसर लगायत मुख्य ५ विषयवस्तुमा आधारित रहेर छलफल भएको थियो ।

अन्य सम्मेलनभन्दा फरक
संघका अनुसार संघले गर्ने यो सम्मेलनमा अन्य सम्मेलनभन्दा धेरै कुरामा फरक र पृथक छ । अन्य सम्मेलनहरु निश्चित विषय र अनुसन्धानमा केन्द्रित हुन्छन् । तर संघको सम्मेलन भनेको स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि सरकारलाई नीतिगत सुधार र कार्यक्रम बनाउन सुझाव दिने विषयमा केन्द्रित हुन्छ ।

‘नेपाल चिकित्सक संघको सम्मेलन भनेको सरकारलाई नीतिगत विषयमा सुधार दिने थिंक ट्यांकका रुपमा रहनेछ,’ अध्यक्ष डा कार्कीले भन्नुभयो, ‘अन्य सम्मेलनहरु वैज्ञानिक विषयहरुमा केन्द्रित रहनेछन् । तर हाम्रो सम्मेलन भनेको सरकारका नीति, योजना, कार्यक्रम, रणनीति तथा कानुन बनाउन सुझाव दिने महत्वपूर्ण मञ्चका रुपमा हुनेछ ।’

उहाँका अनुसार चिकित्सक संघको सम्मेलनमा आएका सुझावहरुलाई एकीकृत गरेर सरकारलाई सुझाव दिएपछि चिकित्सक संघले उक्त विषयमा के भयो भनेर निरन्तर फलोअप पनि गर्नेछ । त्यसकारण सरकार तथा सरोकारवालाहरुलाई हरेक वर्ष संघको सम्मेलनबाट के कस्ता नयाँ सुझावहरु आउनेछ भनेर सबैले प्रतिक्षा गर्ने आवस्था रहने छ ।

संघले गर्ने सम्मेलन हरेक वर्ष निरन्तर रहनेछ । पहिलो वर्षमा भएको सम्मेलनको निरन्तरता स्वरुप नै मुख्य विषयमा केन्द्रित रहेर नै यो वर्षको विषय तय भएको हो । यस्तै आगामी वर्ष हुने सम्मेलन पनि यही वर्षको थिम ९विषय० अनुसार नै निरन्तर हुनेछ ।

यसैबीच, संघले गत वर्षको सम्मेलनमा सहयोग गर्नेहरु सबैलाई सम्मान समेत गरेको छ । संघको पहिलो स्वास्थ्य शिखर सम्मेलनमा अतुलनिय योगदान पुर्याउने सम्पूर्ण सल्लाहकार, आयोजक समितिमा रही विभिन्न जिम्मेवारी निर्वाह गर्नु भएका सम्पूर्ण व्यक्तित्वज्यूहरु, विश्व स्वास्थ्य संगठन, सम्पूर्ण सहयोगी संघ संस्थाहरु, विभिन्न सञ्चार माध्यम, सह आयोजक ब्राण्डवर्थ प्रा।ली लगायतलाई प्रशंशा पत्र उपलब्ध गराइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *