विदेशमा १० बर्ष विशेषज्ञको रुपमा काम गरेको नेपाली चिकित्सकले नेपालको लाइसेन्सका लागि दुई वर्ष कुर्न नपर्ने
काठमाडौँ, ३० साउन । विदेशमा १० बर्ष विशेषज्ञको रुपमा काम गरेको नेपाली चिकित्सकले स्वदेशमा फर्केर विशेषज्ञकै लाइसेन्स प्राप्त गर्न कम्तीमा दुई वर्ष पर्खिनु पर्दथ्यो । तर अब त्यसरी कुर्न नपर्ने भएको छ ।
नेपाल मेडिकल काउन्सिलको डेढ वर्ष अघि बसको बोर्ड बैठकले पुरानो व्यवस्थालाई संसोधन गर्दै विदेशमा विशेषज्ञको रुपमा १० बर्ष काम गरेका नेपाली चिकित्सकलाई नेपालमा आएर लाइसेन्स लिनु परेमा थप दुई वर्ष पर्खिनु नपर्ने निर्णय गरेको हो ।
‘पहिले विदेशमा जति बर्ष विशेषज्ञको रुपमा काम गरे पनि नेपाली चिकित्सकले नेपाल आएर लाइसेन्स लिनु परेमा पहिले स्नातक तहको परीक्षामा सहभागी हुनुपर्ने र त्यसपछि विशेषज्ञको लाइसेन्स लिनका लागि थप दुई वर्ष पर्खिनुपर्ने व्यवस्था थियो । अहिले हामीले त्यसलाई संसोधन गरेका छौँ । १४ मंसिर २०७७ मा बसेको बैठकले संसोधन गरेको हो,’ काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने ।
उनले त्यो सुविधा लिनका लागि सम्वन्धित देशको दर्ता गर्ने निकायबाट अशल चिकित्सकीय अभ्यास प्रमाणपत्र (गुड स्टान्डिङ सर्टिफिकेट) पेश गर्नु पर्ने बताए ।
उनले बोर्डको निर्णय विदेशमा रहेका थुप्रै नेपाली चिकित्सकले स्वदेशमा आएर सहज ढंगले लाइसेन्स प्राप्त गरेको समेत सुनाए ।
उनले ऐन बमोजिम नै स्नातक तहको नाम दर्ता प्रमाणपत्र (चिकित्सक लाइसेन्स) परीक्षा मौखिक रुपमा लिने र विशेषज्ञहरुको लागि लिइने विशेष परीक्षा लिखित रुपमा लिने व्यवस्था भएको समेत प्रष्ट पारे ।
सम्पर्क इमेल : [email protected]