ग्राण्डी इन्टरनेशनल हस्पिटलको दशौँ बार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समितिमा चुनिए यी छ जना

832
Shares

काठमाडौँ, २९ साउन । ग्राण्डी इन्टरनेशनल हस्पिटल लिमिटेडको दशौँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले छ सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।

नयाँ सञ्चालक समितिमा दीपक कुँवर (सीडी डेभलपर्स प्रालि), विजयबहादुर राजभण्डारी (सीई कन्स्ट्रक्सन प्रालि), मिरा अधिकारी (ज्योति एण्ड कम्पनी प्रालि), पंकज बास्कोटा, फुर्पा दोर्जे लामा (राम जानकी इन्भेस्टमेन्ट प्रालि), र डा सुनिलराम बैद्य (नेपाल जेनरल मार्केटिङ प्रालि) रहेका छन् । अब यी छ जनामध्येबाट एक जना अध्यक्ष चुनिने छन् । सञ्चालक समितिको कार्यकाल ४ बर्षको हुनेछ ।

नेपालमै अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्ने योजनाका साथ एक दशक अघि स्थापित भएको अस्पतालले यस अवधीमा विभिन्न आरोह अवरोध पार गर्दै आएको छ । पछिल्लो समय यसका सञ्चालकबीचको मनमुटावले दैनिक कार्य सञ्चालनमै समेत अवरोध हुने अवस्था देखा परेको थियो । प्रमुख शेयरधनी मध्येका एक डा. रुप ज्योतिले आफूले प्रभाह गरेको असुरक्षित ऋण नतिरेको भन्दै अस्पतालविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गर्ने र अदालतले अस्पतालको खाता रोक्का गर्ने फैसला गरेपछि विवाद सतहमा आएको थियो । तर यसबीचमै अस्पतालले सहज रुपमा साधारण सभा गरी आय व्यय तथा बार्षिक बजेट पारित गरेकोले यसले अस्पतालको विवाद सुल्झाउन थप मद्धत गर्ने शेयर सदस्यहरु बताउँछन् ।

अधिकृत पूँजी ३ अर्ब रहेको ग्राण्डीको हाल चुक्ता पूँजी २ अर्ब कायम गरिएको छ । अस्पतालमा १२४ जना सेयर सदस्य रहेका छन् ।

अस्पताल तर्फ १६९ जना विज्ञ चिकित्सक, २८६ जना स्टाफ नर्स, ३०६ जना प्रशासनिक तथा प्यारामेडिक्स, १२३ जना हाउस किपिङ तथा ३० जना सुरक्षाकर्मी बिरामीको सेवामा खटिएको बताइएको छ ।

ग्राण्डी अस्पतालले आर्थिक बर्ष २०७७/०७८ मा ७३ हजार २५४ जना बिरामीलाई ओपिडी सेवा दिइएको बताएको छ । यस्तै ५ हजार ४३३ जना अस्पतालमा भर्ना भई सेवा लिएको र २ हजार ९३६ जनाको शल्यक्रिया भएको बताएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *