इजरायली राजदुत गोदेरद्धारा फ्रन्टलाइन अस्पतालको अवलोकन भ्रमण
काठमाडौँ, १३ साउन । नेपालका लागि इजराइलका राजदुत हानन गोदेरले शुक्रबार विहान पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालको अवलोकन भ्रमण गरेका छन् ।
नेपालका नयाँ अस्पतालहरुमा भित्रिएका प्रविधि र सेवाको गुणस्तरको अवलोकन गर्ने उदेश्यले फ्रन्टलाइनको भ्रमण गरेका हुन् ।
सो क्रममा उनलाई अस्पतालका अध्यक्ष नवराज पाण्डे, अस्पतालका चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेज’ डा चक्रराज पाण्डे, बोर्डअफ डाइरेक्टरहरु शंकर श्रेष्ठ, सन्तोषमणि न्यौपाने, उत्तम भौकाजी, अस्पतालका सिईओ सुरेशकुमार मनोहरन लगायतले स्वागत गर्दै अस्पतालको अवलोकन गराएका थिए ।
अवलोकनपछि बोल्दै राजदुत गोदेरलले फ्रन्टलाइन अस्पताल अन्तराष्ट्र्रिय स्तरको भएको पाएको बताए । ‘यहाँ मैले हेरें पूर्वाधार, उपकरण र अस्पतालले दिईरहेको सेवा अन्तराष्ट्र्रिय स्तरको भएको पाएँ,’ राजदूत गोदेरले अगाडी थपे, ‘आधुनिक चिकित्सा सेवामा आइरहेका परिवर्तनलाई यसले समेटेर अघि बढ्न सकोस शुभकामना ।’
राजदुत गोदेरले नेपाल र इजाराइलको सम्वन्ध सदिऔँ पुरानो भएको भन्दै दुई देशबीच आपसी हितलाई राखेर काम गर्न सकिने उल्लेख गरे । इजाराइलले शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएकै कारण भौगोलिक रुपले सानो भने पनि विकसित र बलियो भएको भन्दै नेपालले पनि यी तीनवटा क्षेत्रलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । उनले स्वास्थ्य क्षेत्रमा आफ्नो देशले नेपाललाई गर्न सक्ने सहयोग सधै जारी नै राख्ने बताए ।
अस्पतालका अध्यक्ष नवराज पाण्डेले अत्याधुनिक प्रविधि र विश्वस्तरीय सेवा दिने योजनाका साथ फ्रन्टलाइन अस्पताल सञ्चालनमा आएको बताए । उनले सेवाको गुणस्तरमा निखारता ल्याउनका लागि अस्पतालले अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिमा जोड दिएको बताए ।
सो अवसरमा अस्पतालका चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेज’ डा चक्रराज पाण्डेले अस्पतालले दिएको सेवा र भविस्यमा थपिने सेवाकाबारेमा जानकारी गराएका थिए । उनले इजराइल स्वास्थ्य सेवामा अझ बढी ट्रमा केयरमा संसारमै उत्कृष्ठ सेवा दिने देश भएको भन्दै त्यहाँबाट पनि नेपालका स्वास्थ्यकर्मीहरुले तालिम तथा अध्ययन गरेर सेवालाई थप प्रभावकारी बनाउन सकिने बताए ।
कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा लोचन कार्कीले नेपालको मेडिकल क्षेत्र र नेपाली चिकित्सकहरुले दिइरहेको सेवाका बारेमा बताएका थिए ।
सम्पर्क इमेल : [email protected]