काभ्रेमा ९ जनामा डेंगु संक्रमण पुष्टि

80
Shares

 

 

Dengu

काभ्रेपलाञ्चोक, १२ साउन । जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ । करिब महिनाअघि पाँचखालमा देखिएको डेंगुको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

काभ्रेपलाञ्चोकमा तीन वर्षपछि गत असार दोस्रोसाता पाँचखालमा भेटिएका डेंगु सङ्क्रमित जिल्ला बाहिरका हुन् । ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगु रोगको सङ्क्रमण भेटिएको थियो । पाँखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो । “करिब एक महिनाको अवधिमा नौ जनामा डेंगु रोगको सङ्क्रमण देखिएको छ, हामी रोगको स्रोतको सर्च एण्ड डिस्ट्रोय गर्ने अभियानमा छौँ”, सेढाईंले भने ।

सङ्क्रमित नौमध्ये मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन् । यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ । काठमाडौँमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आइसियुमा राखिएको सेढाईंले बताए।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय र नगरका स्वास्थ्य टिमले डेंगु सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गरिरहेको छ । साथै, सङ्क्रमितलाई निगरानीमा राखी उपचार तथा अन्य गतिविध बढाइएको कार्यालयले जनाएको छ । “सदरमुकाम धुलिखेललगायतको स्थानका डेंगु सङ्क्रमणको केसमा निकै गम्भीरतापूर्वक अनुसन्धान पनि गरिरहेका छौँ”, सेढाईंले भने ।

लामो समयपछि पाँचखालमा पहिलो डेंगुको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाई अलर्ट’मा बस्न भनिएको छ ।डेंगु को सङ्क्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा कार्यलयको ¥यापिड टिमले अनुगमन तथा सम्भावित परीक्षण गर्ने जनाएको छ ।

साथै, जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेंगुविरुद्धको कीटसहितको टोलीसमेत परिचालन गरिने योजना बनाइएको छ । काभ्रेपलाञ्चोकमा यसअघि २०७६ भदौमा ६ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।

एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *