डा. रेग्मी र डा. गौतम गंगालाल अस्पताल सञ्चालक समितिको सदस्यमा मनोनित
काठमाडौँ, ९ साउन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल) सञ्चालक समितिले पूर्णता पाएको छ । एघार सदस्यीय सञ्चालक समिति मध्ये रिक्त रहेको दुई जना सदस्य आज मनोनित भएपछि समितिले पूर्णता पाएको हो ।
समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले आज मन्त्रीस्तरीय निर्णय गर्दै दुई जना मुटु सम्बन्धी चिकित्सकलाई सञ्चालक समितिको सदस्यमा मनोनित गरेका छन् ।
मन्त्री खापुङले बरिष्ठ कार्डियोलोजिष्ट डा प्रकाशराज रेग्मी र कार्डियाक सर्जन डा नबीन चन्द्र गौतमलाई सदस्यमा मनोनित गरेका हुन् ।
सदस्यमा मनोनित सरकारी सेवाबाट निबृत्त चिकित्सक हुन् । यसअघि वीर अस्पतालमा कार्यरत थिए । अर्का सदस्य डा गौतम गंगालाल अस्पतालमै कार्यरत चिकित्सक हुन् ।
मनोनित भएका दुबै सदस्यको पदावधि चार वर्षको हुनेछ ।
गंगालालमा यसअघि नै मन्त्री खापुङको अध्यक्षतामा ९ सदस्यीय समिति थियो ।
काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेल, स्वास्थ्य सचिव डा रोशन पोखरेल, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य। हार्ट टू नेपालका बिजय राई र हृदय रोग विशेषज्ञ डा युवराज लिम्बू सदस्य रहेका छन् ।
यस्तै काठमाडौ विश्वविद्यालयका डीन डा राजेन्द्र कोजु, महिला प्रतिनिधिको रुपमा विना दवाडी पनि सदस्य रहेका छन् । समितिको सदस्य सचिव भने अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारी रहेका छन् ।
सम्पर्क इमेल : [email protected]