मुटुको शल्यक्रियाका लागि अत्यावश्यक अक्सिजेनेटर मेसिन कुटनीतिक पहल गरेर ल्याउन संसदीय समितिको सुझाव

काठमाडौँ, ६ साउन । मुटुको शल्यक्रियाका लागि अत्यावश्यक अक्सिजेनेटर मेसिन कुटनीतिक पहल गरेर ल्याउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकले मुटुको शल्यक्रियाका लागि अत्यावश्यक पर्ने उक्त मेसिन तत्काल नेपाल ल्याउन आवश्यक पर्ने कानुनी सहजीकरणका लागि पनि सरकारलाई सुझाव दिएको छ।

उक्त समितिको सभापती जयपुरी घर्तीले मुटुका बिरामीको शल्यक्रिया सेवा छिटो उपलब्ध गराउन कुटनीतिक पहलदेखि कानुनी बाधा अड्चन फुकाएर भए पनि अक्सिजेनेटर मेसिन ल्याउन सुझाव दिएकी हुन्।

समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले अमेरिका र जापान सरकारलाई कुटनीतिक पहल गरेर भए पनि उक्त मेसिन ल्याउन सकिने विकल्पका विषयमा जानकारी दिएकी थिइन्। उनले अक्सिजेनेटर मेसिन अहिले विश्वबजारमा अभाव भइरहेको विषय निकाल्दै छिटोभन्दा छिटो कुटनीतिक पहल गर्न आवश्यक रहेकोमा जोड दिइन्।

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले यो मेसिनको अभावका कारण इमरजेन्सी बाहेकका शल्यक्रिया रोकेको छ ।

गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले अक्सिजेनेटर अभाव भएकोले शल्यक्रियाको काम स्थगित गर्नु परेको बताएका छन्  । मेसिन अभावकै कारण शल्यक्रियाका लागि गंगालाल अस्पताल भर्ना भएका ४५ बढी बिरामीलाई अस्पतालले फर्काईदिएको थियो ।

के हो अक्सिजेनेटर ?

बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाका अनुसार अक्सिजेनेटर मुटुको शल्यक्रियामा प्रयोग हुने मेसिन हो । ‘मुटुलाई बन्द गर्दा फोक्सो पनि चल्दैन । त्यसबेला फोक्सोको काम गर्ने मेसिन हो । अर्थात कृतिम फोक्सो हो भनेर बुझ्दा पनि हुन्छ,’ डा कोइरालाले भने ।

उनले त्यो मेसिनबिना मुटुको शल्यक्रिया गर्न नसकिने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *