बर्दिया अस्पतालले गर्‍यो सामाजिक परीक्षण, एक वर्षमा ९१ हजारले लिए ओपिडी सेवा

बर्दिया, ३१ असार । बर्दिया अस्पतालमा चालु आर्थिक बर्षको जेठ सम्ममा ९१ हजार बिरामीले ओपिडी सेवा लिएका छन् । अस्पतालमा ९ हजार ५०० जनाले आकस्मिक सेवा र ३ हजार ८०० जना भर्ना भएर उपचार सेवा लिएका छन् ।

बिहीबार अस्पतालले आयोजना गरेको सामाजिक परीक्षण तथा आम भेला कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा सुवास पाण्डेले पछिल्लो एक वर्षमा दिएको उपचार सेवाको बारेमा जानकारी गराएका हुन् ।

उनका अनुसार अस्पतालमा आएर १ हजार ४५० जना सुत्केरी भएका छन् । ती मध्ये २४० जनाको शल्यक्रिया गर्नु परेको छ । एसएनसीयूमा ३०० जना नवजात शिशुलाई भर्ना भई उपचार सेवा दिईएको छ । यो अवधीमा ८० जनाको मेजर शल्यक्रिया गरिएको छ ।

यस्तै बर्दिया अस्पतालमा हाइड्रोशीलको निशुल्क सर्जरी सेवा समेत उपलव्ध छ । यसवर्ष ९० जनाले सो सेवा लिएका छन् ।

मेसु डा पाण्डेले अस्पतालमा स्वास्थ्य बीमा आवद्ध भएका ३९ हजार नागरिकले उपचार सेवा लिएको बताए । उनले ओसीएमसीमा १५४ जना, एआरटी सेवा लिएका १४९ जना, ११ हजारले एक्सरे सेवा, ३ हजारले ईसीजी सेवा, १० हजारले युएसजी सेवा लिएको जानकारी दिए ।

भेलामा डा पाण्डेले बर्दिया अस्पतालले जेरियाट्रिक सर्भिस, एसएसयू, डटस, कुष्टरोग, लगायतका सेवाहरु उपलव्ध गराएको बताए । तर उनले स्वास्थ्यकर्मी तथा कर्मचारीको संख्या कम भएका कारण काम गर्न समस्या भईरहेको जानकारी दिए । ५० शैयाको सो अस्पतालमा ५९ वटा दरबन्दी भएपनि ३२ जना कार्यरत छन् । कुल कर्मचारीको संख्या भने १०६ रहेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि बनेका बर्दिया जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्टले अस्पतालले दिएको सेवाको प्रशंसा गर्दै सेवालाई थप सहज र प्रभावकारी गराउन सुझाव दिए । उनले स्थानीय तहबाट गर्नुपर्ने र गर्नसक्ने सहयोग निरन्तर जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

अस्पताल विकास समितिका अध्यक्ष श्रीनारायण गौतमको सभापतित्वमा भएको कार्यक्रममा सहभागीहरुले अस्पतालका पदाधिकारीसंग जिज्ञासा राख्ने र सुझाव दिने समेत गरेका थिए ।

लगातार दुई पटक लुम्बिनी प्रदेशको उत्कृष्ठ अस्पताल घोषित बर्दिया अस्पतालले आफ्नै खर्चमा नियमित रुपमा सामाजिक परीक्षण तथा आम भेला गर्दै आएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *