तुलसीका यति धेरै फाइदा !
तुलसी प्राय सबैको घरघरमा रोपिएको देख्न सकिन्छ । बिशेष गरी आज आषाढ शुक्ल हरि शयनी एकादशीको दिन तुलसी रोप्ने प्रचलन छ । सबैको घरघरमा हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिन्छ । पुजा आजा होस्, वा व्रत हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
वैज्ञानिक रुपमा पनि बढी अक्सीजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।
यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस ५–१० मिलि मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ ।
बच्चाहरूको साधारण पेटदुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ ।
मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ ।
विषम ज्वर वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातोपानीसँग पनि सेवन गर्न सकिन्छ । जसले साधारण रुघाखोकी हुनबाट जोगाउँछ ।
किटाणुनाशक शक्ति भएका कारण तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
तुलसीको पातलाई धूलो पाउडर बनाई नरिवलको तेलमा मिलाएर लगाउनाले कपाल झर्ने समस्याबाट मुक्ति मिल्नुका साथै कपाल स्वस्थ रहन मद्दत मिल्छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसी निकै लाभदायी मानिन्छ ।
सम्पर्क इमेल : [email protected]