योजना बनाएर काममा अघि बढ्छु : स्वास्थ्य राज्यमन्त्री केसी
काठमाडौँ, १७ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य क्षेत्र सुधारका लागि योजना बनाएर काम गर्ने बताएका छन् ।
शुक्रबार स्वास्थ्य पत्रकारहरुसंग भएको परिचयात्मक कार्यक्रममा राज्य मन्त्री केसीले अहिलेपनि स्वास्थ्य क्षेत्रमा तमाम समस्या रहेको भन्दै कर्मचारीहरुसंगको समन्वयमा समस्याको हल गर्न केन्द्रित रहने बताएका हुन् ।
उनले भने, ‘कार्यविभाजन गरेर काम गर्छौ । निस्वार्थ भावनाले स्वास्थ्य क्षेत्रको विकृति हल गर्न प्रयत्नशील रहनेछु ।’
राज्य मन्त्री केसीले स्वास्थ्य संस्थाको सुधार, स्वास्थ्य बीमाको सवलीकरण, अस्पतालहरुको सुदृढिकरण, बिरामीमैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
उनले भने, ‘मैले अहिले विभिन्न विभाग र महाशाखाबाट ब्रिफिङ सुनिरहेको छु । अब योजना बनाई काम गर्छु । गुनासो नहुने गरी काम गर्न प्रयत्न गर्दछु ।’
उनले भने, ‘नेपाली जनताको शीर निहुरिने गरी काम गर्ने छैन । स्वास्थ्य सुधार मेरो पहिलो प्राथमिकता हो ।’
स्वास्थ्य सचिवको गाडी ‘आफ्नो’ बनाउनु भयो रे नि ! भन्ने प्रश्नको जवाफमा मन्त्री केसीले त्यसलाई गलत हल्ला चलाईएको दावी गरे । उनले भने, ‘मैले चडने गाडी कण्डिसनको रहेनछ, अलिकति उकालो पनि तान्दै नतान्ने, त्यसपछि सल्लाहमै अर्को गाडीबाट काम चलाउने निर्णय भएको हो । मैले किन अरुको गाडी कब्जा हान्नुपर्छ ? मेरो आफ्नै पनि गाडी छ । त्यो पनि प्रयोग गर्न सक्छु नि ।’
सम्पर्क इमेल : [email protected]