काठमाडौँ उपत्यका बाहिर सरकारी अस्पतालमा पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौँ, १५ असार । राजधानी बाहिर सरकारी अस्पतालमा पहिलोपटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गत ९ असारमा गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको हो ।
अंग ग्रहणकर्ता ५१ वर्षीया यमकुमारी पौडेल प्रत्यारोपण गरेको छैटौ दिन आज अस्पतालबाट पूर्ण स्वास्थ्यलाभ गरी डिस्चार्ज भएकी छन् । उनलाई ५३ वर्षीय आफ्ना पति केशव पौडेलले मिर्गौला दान गरेका थिए ।
पोखरामा प्रत्यारोपण सेवा सुरुवात गर्न भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको टोली पोखरा पुगेको थियो । टोलीको नेतृत्व गरेका केन्द्रका निर्देशक एवं प्रत्यारोपण विज्ञ डा पुकारचन्द्र श्रेष्ठले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सुरु गर्ने सरकारको योजना अनुसार पोखराबाट यो कामको प्रारम्भ गरिएको बताए ।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगको उपचार तथा रोकथाम अन्तर्गत मिर्गौला रोगको उपचारमा विशेष प्राथमिकता दिएकोे हुँदा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले देशका सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने योजना राखेको भन्दै सोही अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा निःशुल्क प्रत्यारोपण शुरु गरिएको जानकारी दिए ।
उक्त प्रत्यरोपण कार्यमा पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठनका उपकुलपती प्रा. डा. डुक बहादुर क्षेत्री, डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ तथा निर्देशक प्रा.डा भरत बहादुर खत्री समेत उपस्थित थिए ।
प्रत्यारोपण टोलीको नेतृत्व प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले गरेका थिए । उनलाई केन्द्रका शल्यचिकित्सक प्रा.डा. राकेश कुमार वर्मा, डा. दिपेश श्रेष्ठ, डा. रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, डा. सोभित थापा, नेफ्रोलोजिष्ट डा. कल्पना कुमारी श्रेष्ठ र डा. लुसन सिं, रेडियोलोजिष्ट डा. कृष्ण वुढाथोकी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका तर्फबाट शल्य चिकित्सक डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाइँ, डा. सन्तोष श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा. माया लामा र डा. अनिल प्रसाद न्यौपाने, नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठ, डा. अमृत के.सी, साथ दिएका थिए ।
त्यस्तै केन्द्रका ट्रान्स्प्लान्ट कोर्डिनेटर तारा साँध, ओ.टी. स्टाफ नर्स कामना वोगटी, विनिता कुटु, ज्योति कोजू, कृष्णा गुरुङ्ग, आई.सि.यु स्टाफ नर्स जयन्ती ताम्राकार र सजना कासुला तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका वरिष्ठ अस्पताल नर्सिङ्ग प्रशासक सरिता कार्की, ट्रान्सप्लान्ट कोर्डिनेटर गितादेवी तिवारी, ओ.टी इन्चार्ज कविता पौडेलले सघाएका थिए । प्रत्यारोपण केन्द्रका गौरव पन्त तथा हरिहर पोखरेलले प्रत्यारोपण कार्य व्यवस्थापनमा सघाउन पुगेका थिए ।

केन्द्रका निर्देशक डा श्रेष्ठले पोखरामा अव महिनाको २ जनाको प्रत्यारोपण गर्ने योजना रहेको बताए ।
त्यसको लागि प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई आत्मनिर्भर वनाउनको लागि केन्द्रले तालिम दिने योजना वनाएको छ ।
प्रत्यारोपण सम्वन्धी फेलोसिप, डि.एम्, एम्.सि.एच्, लगायतका उच्चस्तरीय जनशक्ति उत्पादन गर्नका निम्र्तीे केन्द्र र प्रतिष्ठान विच सहमति पनि भएको जानकारी केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।
सम्पर्क इमेल : [email protected]