दुबईबाट आएका २६ बर्षीय युवकमा ‘मङ्कीपक्स’को आशंका
काठमाडौँ, २ असार । नेपालमा पनि मङ्कीपक्सको भाइरससंग मिल्दो जुल्दो लक्षण भएको बिरामी भेटिएका छन् । दुवईबाट आज नेपाल आएका एक २६ बर्षीय युवकमा मङ्कीपक्स भाईरससंग मिल्दो जुल्दो लक्षण भेटिएको हो ।
उनलाई अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालका निर्देशक डा मनिषा रावलले ती युवालाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलस्थित हेल्थ डेक्सका स्वास्थ्यकर्मीले प्रारम्भिक परीक्षण पछि आफूकहाँ (टेकु अस्पताल) रिफर गरेको बताईन् ।
‘तीन महिना देखि लक्षण देखिएको रहेछ तर कहिले देखिने कहिले हराउने भइरहेको रहेछ । पछिल्लो एक साता देखि भने निरन्तर ज्वरो आउन थालेको रहेछ,’ उनले भनिन् ।
डा रावलले युवकलाई अहिले अस्पतालको आइसोलेसनमा राखिएको र उपचार तथा परीक्षण गरिएको बताईन् ।
‘मङ्कीपक्स नै हो भन्ने अहिले नै भन्ने अवस्था छैन् । हामी परीक्षणका क्रममा छौँ । रिपोर्ट आएपछि मात्रै भन्न सक्छौँ । तर लक्षणहरु मिल्दोजुल्दो हुँदा मङ्कीपक्स नै हो कि भन्ने अनुमान मात्रै गरेका हौँ,’ डा रावलले भनिन् ।
उनले परीक्षणको प्रक्रिया सुरु गरिसकेको बताईन् ।
सम्पर्क इमेल : [email protected]