५ देखि ११ वर्षका बालबालिकालाई ९ असार देखि कोभिडबिरुद्धको खोप दिईंदै

काठमाडौँ, २२ जेठ । सरकारले ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकाहरुलाई आगामी ९ असार देखि कोभिडबिरुद्धको खोप दिने भएको छ । कोभ्याक्स सुविधा मार्फत प्राप्त हुने अमेरिकी खोप फाइजरको पेडियाट्रिक डोज ५ देखि ११ वर्ष उमेर समूहका करीब ३९ लाख बालबालिकालाई दिईने भएको हो ।

स्वास्थ्यमन्त्री बिरोध खतिवडाले पहिलो चरणमा २७ जिल्लाका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई यो खोप दिईने बताए ।

उनले भने, ‘९ देखि १५ असारसम्म २७ जिल्लाका बालबालिकाहरुलाई पहिलो मात्रा खोप दिईन्छ । सोही समूहलाई साउन २ देखि ५ गतेसम्म दोस्रो मात्रा खोप अभियान सचालन हुनेछ । दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको लागि खोप अभियान संचालन हुनेछ ।’

मन्त्री खतिवडाले बालबालिकाहरुलाई विद्यालयमै गएर खोप दिईने समेत जानकारी दिए ।

खोप तथा खोपजन्य सामान नेपाल ल्याउन ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाईजेसन (गाभी)को सहयोग रहनेछ ।

खोप अभियानमा सम्लग्न हुने जनशक्तिको लागि युएसएडले सहयोग गरेको छ । खोप भण्डारणको लागि तयार कोल चेन क्षमता अनुसार केन्द्रीय स्टोरमा भण्डारन गरी क्रमिक रुपमा खोप वितरण गर्ने योजना स्वास्थ्य सेवा विभागले गरेको छ ।

नेपालले यसअघि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि करीब ८४ लाख डोज आवश्यक हुने भन्दै खरीद प्रक्रिया अघि बढाएको बताएको थियो । तर पछि अमेरिकी सरकारले कोभ्याक्स मार्फत उपलव्ध गराउने जनाएको हो ।

‘हामीले खरीद गर्न परे करीब ६ अर्व लाग्ने थियो । तर मन्त्रालयको निरन्तर प्रयास र दातृ निकायसंगको समन्वयमा यो खोप निशुल्क पाउने भएका छौँ,’ मन्त्री खतिवडाले भने ।

नेपालमा अहिलेसम्म ५ करोड ३३ लाख डोज खोप भित्रिएको छ । त्यसमा ४ करोड ३० लाख भन्दा बढी डोज पहिलो, दोस्रो र बुस्टर डोजको रुपमा प्रदान गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार कोभिड १९ बिरुद्धको खोप उच्च जोखिमयुक्त समूहबाट सुरु गरेर लक्षित जनसंख्यामा दिने नेपालको नीति अनुसार १२ वर्ष र सो भन्दा माथि उमेरका खोप उपलव्ध गराउदै आएको मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा हालसम्म १२ वर्ष माथिका कुल जनसंख्याको ८५ प्रतिशत बढीलाई खोप लगाईसकिएको र ९६ प्रतिशतलाई कम्तीमा एक मात्रा खोप लगाईसकिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *