डब्लूएचओका महानिर्देशक टेड्रोस र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

96
Shares

काठमाडौँ, ९ वैशाख । तीन दिने नेपाल भ्रमणमा आएका विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोभ ग्रेबैयसस र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट भएको छ ।

तीन दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौँ आइपुगेका डब्लूएचओका महानिर्देशक गेब्रेयससले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटघाट गरेका हुन् । ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले डब्लूएचओको महत्वपूर्ण जिम्मेवारी र व्यस्त समयका बाबजुद नेपाल भ्रमणका लागि समय निकालेर नेपाल आएकोमा खुसी व्यक्त गरे। अध्यक्ष तिमिल्सिनाले कोरोनाको कठिन समयमा संसारभरिका मानिसहरूको जीवन बचाउनका लागि डब्लूएचओले खेलेको भूमिकाको प्रशंसा गर्दै भने, ‘विशेषगरी कोभिड–१९ महामारीको समयमा तपाईंको बलियो, व्यावहारिक र दूरदर्शी नेतृत्वको नेपाल प्रशंसा गर्दछौं। यो योगदानलाई विश्वले सधैं सम्झिरहनेछ ।’

डब्लूएचओले स्थापनादेखि नै विश्वकै जनस्वास्थ्य चुनौतीको सामना गर्नका लागि सहयोगी साझेदार भएको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले नेपाललाई कोभिड–१९ नियन्त्रण तथा यसविरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले विश्वभर कोभिडविरुद्धको खोपको समान वितरण हुनुपर्ने जोड दिँदै विशेषगरी केही अफ्रिकी तथा अल्पविकसित मुलुकहरूमा समान वितरण नभएको भन्ने आवाज उठेकोप्रति ध्यानाकर्षण गराएका छन् ।

उनले अन्तर व्यवस्थापिका संघको १४४ औं सम्मेलनमा समेत यो विषय उठेको जानकारी गराउँदै यसमा डब्लूएचओले ध्यान दिनुपर्नेमा जोड दिए। उनले नेपाली जनताको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा डब्ल्यूएचओ कन्ट्री अफिस, डब्ल्यूएचओ एसईआरओ र सम्पूर्ण डब्ल्यूएचओ प्रणालीको प्रशंसा गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले राज्यबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने हकलाई नेपाली नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेकाले सबै नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन नेपाल सरकार लागिपरेको बताए ।

त्यसैगरी भेटका क्रममा डब्लूएचओका महानिर्देशक टेड्रोसले नेपालको संसद्को नेतृत्वकर्ताको रूपमा अध्यक्ष तिमिल्सिनालाई स्वास्थ्य क्षेत्रमा राखेको चासोबाट आफू प्रभावित भएको बताए।

त्यसैगरी हिजो डा टेड्रोस  र स्वास्थ्य मन्त्री विरोध खतिवडाबीच पनि भेटवार्ता भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *