पाँच बर्षीय बालकको छिनिएको हात ट्रमा सेन्टरका चिकित्सकले जोडिदिए
काठमाडौँ, २० चैत । पाँच बर्षीय बालकको छिनिएको हात राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरुले शल्यक्रिय गरि जोडि दिएका छन् । धनुषा जाठीका ५ बर्षीय बालक कुलदीप मण्डलको दुई टुक्रा भएको दाँया हात सेन्टरका प्लास्टिक सर्जन प्राडा पियूस दाहाल नेतृत्वको चिकित्सक टोलीले १५ घण्टा लामो शल्यक्रिया गरी जोडिदिएका हुन् ।
बालकको हात छाँटी काटने मेसिनमा परेर दुई टुक्रा भएको थियो ।
घटना ९ फागुनको हो । अरु दुई जना साथीसंग आगनमा खेल्दै गरेका कुलदीप झुक्किएर छाँटी काट्ने मेसिनमा परेका थिए । उनका बुवा आमा दुवै भारतमा गएको बेला थियो । तर घटना लगत्तै छिमेकीले टुक्रा भएको हात सहित प्रादेशिक अस्पताल जनकपुर पु¥याएका थिए । त्यहाँका चिकित्सकले प्राथमिक उपचार गरी तत्कालै ट्रमा सेन्टर रिफर गरेका थिए ।
ट्रमामा ल्याए लगत्तै शल्यक्रिया सुरु गरिएको थियो ।
प्राडा दाहालले समयमा नै अस्पताल ल्याएका कारण बालकको हात जोड्न सफल भएको बताए । ‘समयमा नै यहाँ ल्याइ पु¥याउनुभएको हुँदा हात जोडिन सक्यो,’ उनले भने, ‘प्रादेशिक अस्पताल जनकपुरले पनि उचित प्राथमिक उपचार गरेको हुँदा हात बिग्रनबाट बच्यो ।’
उक्त केशको शल्यक्रिया गर्ने प्राडा दाहालको टोलीमा डा. महेश देवकोटा, डा. पशुपतिबाबु पोखरेल, डा. अपार लामिछाने, डा. रुपेश यादवलगायत चिकित्सक थिए ।

१५ घण्टाभन्दा बढी समय लागेको यो शल्यक्रियमा २५ वटा विभिन्न नसा र हड्डीको संरचना जोडिएको उपचारमा संलग्न चिकित्सक डा. अपार लामिछानेले जानकारी दिए ।
शल्यक्रिया सफल भएपछि अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
प्राडा दाहालको टोलीले गतवर्ष पनि यस्तै केशमा सफलता हात पारेको थियो ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

