चितवनका ८ ठाउँमा एकै पटक देखियो बर्डफ्लु

108
Shares


चितवन, १८ चैत । चितवनका विभिन्न आठ ठाउँमा बर्डफ्लु देखिएको छ । विगत केही दिनदेखि फरक–फरक ठाउँमा बर्डफ्लु देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लु देखिएपछि नियन्त्रणको प्रयास गरिएको छ ।

भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाको खैरहनी नगरपालिका २ को किरणप्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र प्रालि, भरतपुर महानगरपालिका ८ को मदनकृष्ण मानन्धरको कमर्सियल लेयर्स फार्म र भरतपुर महानगरपालिका २३ को खेमलाल भुषाल र चन्द्र भुषालको कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो ।

यसैगरी भरतपुर महानगरपालिका १६ को एजे पोल्ट्री फार्म, भरतपुर २३ का अविशेक रामदामको फार्म, खैरहनी नगरपालिका १० को राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी नगरपालिका ३ को ध्रुव अधिकारीको कुखुरा फार्म र खैरहनी नगरपालिका ६ को राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लु देखिएको हो ।

ती फार्ममध्ये कँडेल, मानन्धर र भुषालको फार्मलाई अनुगमन गरी त्यसको परिधि क्षेत्रभित्रका पक्षी नष्ट गर्ने निर्णय भएको कार्यालयका अधिकृत प्रभात न्यौपानेले जानकारी दिए। उनका अनुसार अन्य ६ वटा फार्ममा टोलीले अनुगमन गरेर परिधि तय गर्न बाँकी रहेको छ ।

बर्डफ्लु नियन्त्रण समिति चितवनले निर्णय गरेपछि थप ती ठाउँमा पक्षी नष्ट गरिने उनले जानकारी दिए। ती सबै ठाउँको नमुनाको नतिजा बिहीवार आएको हो । जनशक्ति अभावका कारण काममा ढिलाइ भएको उनले बताए । यसअघि जिल्लामा पाँच ठाउँमा बर्डफ्लु देखिएको थियो ।

जिल्लामा बर्डफ्लु बढेपछि पशु सेवा विभागका महानिर्देशक डा। रामनन्दन तिवारीसहितको विज्ञ टोली यहाँ आएको छ । बर्डफ्लु नियन्त्रण समितिको आज बसेको बैठकमा तिवारीले देशभरको बर्डफ्लुको अवस्थाबारे जानकारी दिँदै चितवन थप संवेदनशील बनेको बताए ।

अहिलेसम्म देशभरका १३ जिल्लामा बर्डफ्लु देखिएको उनले जानकारी दिए। मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्ड फ्लु देखिएको हो । ती जिल्लामा ८८ हजार आठ सय पक्षी मारिएको, ५१ हजार सात सय ६३ अण्डा नष्ट गरिएको, ३० क्विन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको उनको भनाइ छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *