नजिकिदै राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन, को-को छन् नेतृत्वको दौडमा ?
काठमाडौँ, १० चैत । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन २५ देखि २७ चैतसम्म काठमाडौंमा हुँदैछ । हरेक तीन तीन वर्षमा हुनुपर्ने महाधिवेशन यसपटक करीब ६ वर्ष पछि हुँदैछ ।
महाधिवेशनको ढिलाई हुनुमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता, त्यसपछि देखिएको कोभिड १९ को संक्रमण लगायतलाई कारण भनिएको छ । तर महाधिवेशन नजिकिदै जाँदा नयाँ नेतृत्वको लागि रस्साकस्सी भने चल्न थालेको छ ।
अहिले १०६ जनाको कार्यसमिति भएको संघलाई एमालेले आफ्नो दशौँ महाधिवेशन अघि भातृसंगठनको मान्यता दिएको थियो । एमालेले भातृ संगठनहरुलाई १५० सदस्यीय कार्यसमिति बनाउन सकिने म्यान्डेड दिएपछि स्वास्थ्यकर्मी संघको अवको कार्यसमिति पनि सोही अनुसार हुने आँकलन गरिएको छ ।
३० हजार बढी सदस्य रहेको र ७७ वटै जिल्लामा आफ्नो संगठन रहेको दावी गर्ने संघले अहिले धमाधम जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनौटको काम गर्दैछ ।
महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वमा को आउँला भनेर चर्चा चल्न थालेको छ । यो बीचको छ वर्षमा पार्टी एकता र फुटको अनुभव बटुलेको एमालेले आफ्नो महत्वपूर्ण भातृसंगठनको अधिवेशनलाई विशेष प्राथमिकताका साथ हेरेको बताइएको छ ।
नयाँ नेतृत्वका लागि को को छन् चर्चामा ?
अबको दुई साता पछि सुरु हुने महाधिवेशनले संगठन हाक्नका लागि नयाँ नेतृत्व पाउनेछ । अहिले १०६ जनाको केन्द्रीय कार्यसमिति रहेको भएपनि अवको कार्यसमिति कति सदस्यीय बन्छ भन्ने एकीन भइसकेको छैन् । तर संगठनको नेतृत्व तहका लागि चर्चा र दावी सुरु हुन थालेको छ ।
सबैभन्दा बढी चर्चा अध्यक्ष पदका लागि छ । यसमा डा झलक गौतम, रामबहादुर चन्द, रामहरि ढकाल, त्रिलोक गुरुङ नाम चर्चामा आएको छ । तर पछिल्लो समय पार्टीले सबै निकायमा सहमतिको आधारमा नेतृत्व छनौट गरेको हुँदा डा गौतम र चन्द मध्येबाट एक जना अध्यक्षमा छनौट हुन सक्ने बताएको छ ।
चन्द संघको अहिले कार्यबहाक अध्यक्ष हुन्। चन्द नेपालगन्ज उपमहानगरपालिकामा स्वास्थ्य संयोजकका रुपमा कार्यरत छन्। डा गौतम स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखामा कार्यरत छन्। संगठनका सिनियर, भद्र र मिलनसार व्यक्ति भएकोले उनको सम्भावना बढी देखिएको हो । यस्तै ढकाल भरतपुर अस्पतालमा, गुरुङ लमजुङ एक स्वास्थ्य चौकीमा कार्यरत छन्।
यस्तै उपाध्यक्षमा भीमराज सिंह र जगत नेपालीको नाम चर्चामा छ । सिंह स्वास्थ्य बीमा बोर्डमा कार्यरत छन् । नेपाली काठमाडौँमै एक स्वास्थ्य चौकीमा कार्यरत हुन् । सांगठनिक हिसावमा नेपालीको तुलनामा सिंह बलियो रहेको बताइएको छ ।
महासचिव पदमा भने हिमालय तिवारी लगभग एक्लो दौडमा देखिन्छन् । संगठनको तल्लो तहसम्म पकड भएका कारण उनी बलिया देखिएका हुन् । उनी वीर अस्पतालमा कार्यरत छन् । यस्तै सचिवमा सरोज थापा, लक्ष्मण बसौला र यमबहादुर चिदीको नाम चर्चामा आएको छ । कोषाध्यक्षमा अञ्जु बस्नेत, उपमहासचिवमा रुपा केसीको चर्चा चल्न थालेको छ ।
संघको तेस्रो अधिवेशनबाट भक्तिमान सुब्बा अध्यक्षमा निर्वाचित भएका थिए । तर नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेसँगै सुब्बा एमाले छाडेर समाजवादीमा गएका छन् ।
नेकपा एमाले निकट मानिने स्वास्थ्यकर्मीहरुले २७ जेठ २०६२ मा स्थापना गरेको संगठन स्वास्थ्य क्षेत्रको बलियो संगठनको रुपमा स्थापित छ ।
सम्पर्क इमेल : [email protected]