मस्तिष्क मृत्युको अंगदानबाट हुने प्रत्यारोपणबारे अस्पताल-अस्पतालमा गएर अन्तरक्रिया गर्दै प्रत्यारोपण केन्द्र
काठमाडौँ, ८ चैत । मस्तिष्क मृत्युको अंगदानबाट हुने प्रत्यारोपणले अपेक्षित गति लिन नसकेपछि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको टोली ‘हस्पिटल अवाएरनेश क्याम्पियन’मा निस्केको छ । उसले सोमबार मात्रै काठमाडौँ उपत्यकाका तीन ठूला अस्पतालमा गएर मस्तिष्क मृत्युको अंगदान र त्यसबाट हुने प्रत्यारोपणबारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आज पनि थप दुईवटा अस्पतालमा त्यस्तै अन्तरक्रिया कार्यक्रम गर्ने केन्द्रले जनाएको छ ।
‘हामीले हिजो (सोमबार) ग्वार्कोस्थित बीएण्ड बी अस्पताल, बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेज (न्युरो अस्पताल बाँसबारी) र माईतीघरमा रहेको अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेज (अन्नपूर्ण न्युरो अस्पताल) पुगेर मस्तिष्क मृत्युको अंगदानबाट हुने प्रत्यारोपणबारेमा अन्तरक्रियासम्पन्न गरयौँ । आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र महावौद्यस्थित राष्ट्रिय ट्रमा सेन्टरमा गएर अन्तरक्रिया कार्यक्रम गर्दैछौँ,’ भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले भने ।
उनले अन्तरक्रिया कार्यक्रम गर्नुको मुख्य उद्धेश्य मस्तिष्कमृत्युको अंगदानबाट हुने प्रत्यारोपण बारे चिकित्सक, नर्स तथा अस्पताल प्रशासन र व्यवस्थापनलाई जानकारी गराउनु रहेको बताए ।
‘हामीकहाँ पाँच वर्ष अघि नै मस्तिष्कमृत्युको अंगदानबाट प्रत्यारोपण गर्न सक्ने कानून बन्यौ र त्यसको सुरुवात समेत भयो । तर त्यस यताको अवधीमा यसले जसरी गतिलिनुपर्ने थियो लिन सकेन । यसबारेमा विचार विमर्स गर्दा जनचेतनाको पक्ष अलि कमजोर रहयो कि भन्ने लाग्यो । हाम्रो कानूनी व्यवस्थाबारेमा हाम्रै चिकित्सक नर्स तथा अस्पताल प्रशासन व्यवस्थापनलाई राम्ररी थाहा छैन भन्ने लाग्यो । त्यसबारेमा छलफल गर्न हामी निस्केका हौँ,’ डा श्रेष्ठले भने ।
सोमबारको अनतरक्रिया कार्यक्रममा तीनवटै अस्पतालका प्रमुख सहित न्युरोलोजी तथा न्युरो सर्जरीका चिकित्सक, आइसीयूका नर्सहरु, प्रशासन र व्यवस्थापनमा खटिएका अरु स्टाफहरु सहभागी थिए ।
‘बी एण्ड बीमा प्राडा जगदीशलाल बैद्य आफै नै टोलीको नेतृत्व गर्दै सहभागी हुनु भएको थियो । बाँसबारी न्युरोमा प्राडा मधु दीक्षित देवकोटा र अन्नपूर्ण न्युरोमा प्राडा बसन्त पन्त नै टोलीको नेतृत्व गर्दै सहभागी हुनु भएको थियो,’डा. श्रेष्ठले भने ।
अन्तरक्रिया कार्यक्रममा केन्द्रका तर्फबाट डा श्रेष्ठको नेतृत्वमा ब्रेनडेथ ट्रान्सप्लान्ट सम्वन्धी नेशनल कोअर्डिनेटर डा कल्पना श्रेष्ठ, डा राकेश बर्मा, डा कृष्ण बुढाथोकी, डा सुमित आचार्य, डा अच्युत खनाल गौरव पन्त, नर्सिङ निर्देशक कोपिला दाहाल, ट्रान्सप्लान्ट कोअर्डिनेटरद्धय तारा साह र अर्चना बगालेको टोली सहागी थियो । कार्यक्रममा मस्तिष्क मृत्युको अंगदान र प्रत्यारोपणको कानूनी व्यवस्था र अहिलेको प्रत्यारोपणको अवस्थाका बारेमा प्रस्तुतिकरण दिएकी थिईन् । यस्तै अर्को प्रस्तुति डा आरती राईले गरेकी थिईन ।
अस्पतालहरुका तर्फबाट कार्यक्रम अघि बढ्न नसक्नुको पछाडीका मुख्य कारणहरुबारेमा छलफल भएको थियो ।
अन्तरक्रियामा के के धारणा आए ?
बीएण्डबी अस्पतालमा भएको कार्यक्रममा प्राडा बैद्यले मस्तिष्क मृत्युको अंगदान र प्रत्यारोपण सम्वन्धी कानूनी व्यवस्था रहेपनि यसबारेमा जनचेतनाको कमीले अघि बढ्न नसेको बताए । उनले केन्द्रले अस्पतालसंग समन्वय गर्ने, कानूनी पाटोबारे जानकारी गराउने कदम ठिक भएको बताए । उनले मुख्य गरी ब्रेन डेथ भएका परिवारलाई कन्भिन्स गर्नु चुनौतीपूर्ण कार्य भएको बताउँदै प्रत्येक अस्पतालमा सो कार्यका लागि कन्भिन्स गर्ने स्टाफको व्यवस्था हुनुपर्ने बताए । त्यसका लागि राज्यले अस्पतालसंग समन्वय गर्नुपर्ने बताए । उनले अंगदान गर्ने परिवार र अंगदानका लागि काम गर्ने अस्पतालहरुका लागि केही सहुलियतका कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।
यता बाँसबारी न्युरो अस्पतालका प्राडा देवकोटाले पनि मस्तिष्क मृत्युपछि खेरजाने अंग कसैको जीवन बचाउनका लागि काम आउने भन्दै यसलाई अघि बढाउनुपर्ने बताईन् । उनले पनि जनचेतनाको पाटो कमजोर रहेको भन्दै यसलाई थप प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताईन् । ‘पहिलो कुरा परिवार स्वयं कन्भिन्स हुनुपर्छ । त्यसका लागि बातावरण बनाईनु पर्छ । त्यसका लागि जनचेतना बढाउनुपर्छ,’ उनले भनिन् ।
माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालका प्राडा पन्तले पनि मस्तिष्क मृत्युको अंगदानबाट हुने प्रत्यारोपणको बारेमा व्यापक जनचेतना अभिबृद्धि गर्नु पर्नेमा जोड दिए । उनले मस्तिष्क मृत्यु भएका व्यक्तिको परिवारलाई काउन्सिलिङ गर्नु सबैभन्दा महत्वपूर्ण कदम भन्दै त्यसका लागि राज्यले निजी अस्पतालहरु सहकार्य गरेर अघि बढ्नु पर्ने बताए । उनले मस्तिष्क मृत्यु भएको थाहा भएर पनि परिवारको कोही सदस्यलाई पर्खिन केही दिन आफ्नो बिरामी भेन्टिलेटरमा राख्न चाहन्छ । र उसले अंगदान गर्न समेत चाहन्छ भने त्यस्तो बिरामीलाई राज्यका तर्फबाट निशुल्क रुपमा केही दिनका लागि भेन्टिलेटरको व्यवस्था मिलाईदिनुपर्ने समेत बताए ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको बोर्डले अहिले मस्तिष्क मृत्यु पछि अंगदान दिने परिवारका लागि किरिया खर्च वापत १ लाख रुपैयाँ र अस्पताललाई अंग झिक्ने कार्यमा लाग्ने प्राविधिक खर्च बापत भन्दै ५० हजार रुपैयाँ दिने गरेको छ ।
त्यसो त नेपाल सरकारले बनाएको अंग प्रत्यारोपण ऐन अन्तरगर्त नै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई समन्वय ईकाई तोकिएको छ । अब यदि कोही कसैको मस्तिष्क मृत्यु भयो र परिवारले अंगदान दिन चाहेमा समन्वय इकाईको कोअर्डिनेटरको मोवाइल नं ९८२३५८१७१४ मा सम्पर्क गरी प्रक्रियामा अघि बढ्न सकिन्छ । यो नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिन्छ ।
सम्पर्क इमेल : [email protected]