नेपालमा २५०० जनाले गरे मृत्युपछि अंगदान गर्ने घोषणा

मस्तिष्क मृत्यु पछि प्रत्यारोपणका लागि अंग पाउने आशामा ४०० जना
584
Shares

काठमाडौँ, २ चैत । नेपालमा अहिलेसम्म २ हजार ५०० जनाले मृत्यु पछि अंगदान गर्ने घोषणा गरेका छन् ।

पछिल्लो पटक विश्व मिर्गौला दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित मन्त्रीपरिषदका सबै सदस्यहरुले अंगदान गर्ने घोषणा गरेका छन् । त्यसअघि नै स्वास्थ्य मन्त्री विरोध खतिवडा, मुख्य सचिव शंकरदाश बैरागी, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं, डा रोशन पोखरेल लगायतले अंगदान गर्ने घोषणा गरिसकेका छन् ।

अंगदानका लागि समन्वय गर्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्थापित प्रत्यारोपण समन्वय विभागले विशिष्ठ देखि आम सर्वसाधारण गरी अहिलेसम्म करीव २ हजार ५ सय जनाले अंगदान गर्ने घोषणा गरेको बताएको छ । उसले करीव ४०० जनाले मस्तिष्क मृत्यु पछि अंग प्राप्त गरि प्रत्यारोपण गर्नका लागि पर्खाईमा रहेको समेत उल्लेख गरेको छ ।

मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ख) ले व्यक्तिहरुलाई मृत्यु प्रयन्त आफ्नो अंगदान गर्न स्वतन्त्र छाडिदिएको छ । अहिले अंगदानका लागि मञ्जुरी नामा दिएकाहरु सोही दफा अनुसार हो ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ मृत्यु पश्चात खेर जाने आठवटा महत्वपूर्ण अंगहरु दान गरी अन्य व्यक्तिको जीवन बचाउन सकिने बताउँछन् । उनका अनुसार दुईवटा मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा लगायतका अंग अरुको शरीरमा प्रत्यारोपण गर्न मिल्छ । तर नेपालकै सन्दर्भमा भने अहिलेसम्म मिर्गौला र कलेजो प्रत्यारोपण गर्न सकिन्छ ।

विभागले अहिलेसम्म मस्तिष्क मृत्यु भएका तीन जना व्यक्तिबाट ६ जनाको मिर्गौला र एक जनामा कलेजो प्रत्यारोपण भएको बताएको छ ।
उसले अंग दानको लागि केन्द्रमा प्रत्यारोपण कोअर्डिनेटर विभागको सम्पर्क नं. (०१ ६६१४०४७/९८२३५८१७१४) मा सम्पर्क गर्न सकिने छ समेत जनाएको छ ।

त्यस्तै केन्द्रको वेवसाइट www.hotc.org.np बाट अंगदान फर्म डाउनलोड गरी अंगदान गर्न सकिने उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *