मिर्गौलामा पत्थरी भएका २७ जनाको ‘खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजी’द्धारा नि:शुल्क शल्यक्रिया

'हरेक दिन चार जना गरीब तथा विपन्नलाई सरकारी रेटमै शल्यक्रिया सुविधा'
452
Shares

ललितपुर, २१ फागुन । कुपण्डोलमा केही महिना अघि देखि सञ्चालनमा आएको खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले मिर्गौलामा पत्थरी भएका २७ जनाको नि:शुल्क शल्यक्रिया गरिदिएको छ ।

आरुस लाइफस्टाइल हस्पिटलसंगको सहयोगमा इस्टिच्युटले गत बुधबार देखि शुक्रबार (हिजो)सम्म फ्रि मिनिपीसीएनएल क्याम्प सञ्चालन गरेको थियो । उक्त शिविरमा सञ्चालित शिविरमा २२ जना पुरुष र ५ जना महिला गरी कुल २७ जनाले निशुल्क सेवा लिएका हुन् ।

‘गरीव तथा विपन्न नागरिकलाई लक्षित गरि सञ्चालित शिविर गत बुधबार देखि शुक्रबार (हिजो)सम्म चलेको थियो । ती सबै २७ जनाको चिरफार विना नै सानो प्वाल पारेर गरिने शल्यक्रिया अर्थात मिनि पिसिएनएल विधिबाट मिर्गौलाको पत्थरी झिकिएको हो,’ इन्स्टिच्युटका प्रवन्ध निर्देशक एवं कन्सल्ट्यान्ट युरोलोजिष्ट डा. संजय खड्गीले भने ।

उनले तीन दिने शिविरमा ४० जनाको निशुल्क शल्यक्रिया गर्ने लक्ष्य लिएको भएपनि केही बिरामीमा कोभिड देखिएको, केही विरामीमा अरु समस्या भएका कारण योजना अनुसार शल्यक्रिया गर्न नसकिएको बताए ।

‘हामीले तीन दिनमा ४० जनाको निशुल्क शल्यक्रिया गर्ने योजना बनाएका थियौँ । तर शल्यक्रियाकै लागि आउनु भएका केहीमा कोभिड १९ को संक्रमण देखियो, केहीमा अन्य समस्या देखियो । त्यसैले यसपटक २७ जनालाई निशुल्क उपचार दिन सक्यौँ,’ डा खड्गीले भने ।

उनले शिविरमा १३ वर्ष देखि ६६ वर्ष उमेरका व्यक्तिहरुले सेवा लिएको, १० एमएम देखि ४७ एमएमसम्मको पत्थरी झिकिएको र शल्यक्रियामा अधिकतम साढे ३ घण्टासम्म लागेको सुनाए । यस्तै शिविरमा यसपटक उपत्यका भित्रका १५ जना र बाहिरका १२ जनाले सेवा लिएको समेत उनले जानकारी दिए ।

शिविरमा  उपचार, औषधि सहित  खाना तथा बेडचार पूर्ण रुपमा नि:शुल्क थियो । ‘ यी सबै कार्यका लागि हामीलाई  कुवेत रेड क्रिश्चियन सोसाइटीको आर्थिक सहयोग थियो,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डा. खड्गीले स्पष्ट पारे । साथै उनले विपन्न नागरिकको उपचारका लागि खड्गी इस्टिच्युट सदा तत्पर रहेको समेत उल्लेख गरे ।

‘हरेक दिन चार जना गरीब तथा विपन्नलाई सरकारी रेटमै शल्यक्रिया सुविधा’

खड्गी इस्टिच्युटले यसअघि नै हरेक दिन ४ जना विपन्नका लागि सरकारी अस्पतालको शुल्क दरमै मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्ने घोषणा गरेको थियो ।

सो सुविधा अहिले पनि निरन्तर जारी रहेको डा खड्गीले बताए ।

‘मैले पहिले पनि भनेको थिएँ, विपन्नका लागि हरेक दिन चार वटा कोटा छुट्याएका छौँ । जसले सरकारी दरमै मिर्गौलाको पत्थरीको उपचार गर्न सक्नु हुन्छ । त्यो सुविधा लिनका लागि आफू बसेको स्थानीय पालिका अर्थात वडाबाट एउटा सिफारिस पत्र ल्याए पुग्छ,’  डा. खड्गीले भने ।

उनले सरकारी दर भनेर २० हजार शुल्क तोकिएको समेत स्पष्ट पारे । ‘२० हजार रुपैयाँ आम सर्वसाधारण गरीव बिरामीले उपचार गर्ने वीर तथा त्रिवि शिक्षण अस्पताल जस्ता सरकारी अस्पतालले लिने शुल्क हो । हामीले त्यहि रेटमा सेवा दिने भनेका हौं । नत्र त यस्तो उपचारका लागि ८० हजार देखि अढाई लाख रुपैयाँसम्म लाग्न सक्छ,’ उनले स्पष्ट पारे ।

ललितपुरको कुपण्डोलमा भर्खरै सञ्चालनमा आएको २५ शैय्याको आरुस लाइफस्टाईल हस्पिटलको माथिल्लो तल्लामा खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजी रहेको छ ।

मुत्र प्रणाली तथा मिर्गौला पत्थरीको विरामीका लागि विशेष फोकस छ । डा. खड्गीले भने ‘ यहाँ  मुत्र प्रणालीसंग सम्वन्धी रोगहरु युआरएसएल, आरआईआरएस, मिनिपिसिएनएल जस्ता प्रविधिबाट विना ठूलो चिरफार उपचार गरिन्छ ।’

डा. खड्गी नेपालमै पहिलो पटक मिनिपिसिएनल प्रविधिबाट पत्थरीको उपचार गर्ने डाक्टरको रुपमा परिचित छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *