कान्तिमा ‘एमसीएच पेडियाट्रिक सर्जरी’ कार्यक्रम सुरु हुँदै

2.4k
Shares

काठमाडौँ, १६ माघ । कान्ति बाल अस्पतालमा आजबाट पेडियाट्रिक सर्जरीमा एमसीएचको कार्यक्रम सुरु हुँदैछ । पेडियाट्रिक सर्जरीमा एमसीएच कार्यक्रम सुरु हुन लागेको नेपालमै पहिलो पटक हो ।

चिकित्सा शिक्षा आयोगले यसबर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई एमसीएच तर्फ पेडियाट्रिक सर्जरीमा एक सीट उपलव्ध गराएको थियो । न्याम्सले सोही  सोही सीटको अध्ययन अध्यापन कान्ति बाल अस्पतालमार्फत गर्न लागेको हो ।

कान्तिमा एमसीएच पेडियाट्रिक सर्जरी कार्यक्रमको नेतृत्व प्राडा विजय थापा र कोअर्डिनेटर सहप्राडा अनुपमा बस्नेतले गर्नेछन् । पेडियाट्रिक सर्जरीमा एमसीएचको अध्ययन गर्ने पहिलो विद्यार्थी सुयोग सिंखडा हुने भएका छन् । उनले खुल्ला तर्फबाट नाम निकालेका हुन् ।

‘एमडी पेडियाट्रिक सर्जरी प्रोग्राम सुरु भएको १७ वर्ष भयो तर एमसीएच थिएन । यो कार्यक्रममा एमएस गरेकाहरुले थप तीन वर्ष अध्ययन गर्नुपर्ने हुन्छ । नेपालमै पहिलो पटक कान्तिमा यसको पढाई हुन थालेको छ,’ अस्पतालका निर्देशक प्राडा अजित रायमाझीले भने ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको पेडियाट्रिक सर्जनको जनशक्ति २७ रहेको छ । त्यसमा करीव २४ जनाले काम गरेको र त्यसमध्ये ४ जनाले कान्ति बाल अस्पतालमा नै कार्यरत छन् ।

‘अहिले त पढाउने जनशक्तिको पनि अभाव छ । अब भने प्रत्येक वर्ष एक एक जना उत्पादन हुँदै गएपछि त्यहिबाट फ्याकल्टी निर्माण गरी थप सीटहरु लिएर यसमा जनशक्ति थप्ने योजना हामीले बनाएका छौँ,’ डा रायमाझीले भने ।

एमसीएच पेडियाट्रिक सर्जरी कार्यक्रमको नेतृत्व गरेका प्राडा थापाले नयाँ विषय सञ्चालन गर्न पाउनु कान्ति र आफ्नो लागि समेत गौरवको कुरा हो भन्दै यसले चिकित्सा शिक्षाको अभिवृद्धिमा महत्वपूर्ण ईट्टा थपेको प्रतिक्रिया दिए । उनले अब देखि यो पढाईका लागि विदेश जानु नपर्ने समेत बताए ।

आयोगले तोकेको पूर्वनिर्धारित तालिका अनुसार नै कान्तिमा आजबाट पेडियाट्रिक सर्जरीमा एमसीएचको पढाई सञ्चालन हुन लागेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *