लुम्बिनीका मुटु, क्यान्सर र मिर्गौलाका बिरामीले थप दुई लाख उपचार सहयोग पाउने
काठमाडौँ, १४ माघ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा अन्तर्गत मुटु, क्यान्सर मिर्गौलाका बिरामीलाई दुई लाख रुपैयाँ दिने भएको छ । गत ७ पुस पछि मुटुका भल्भ फेरेका, मिर्गौला प्रत्यारोपण गरेका र क्यान्सर भएका बिरामीलाई दुई लाख रुपैयाँ दिईने भएको हो ।
त्यसो त मुटु र क्यान्सरका बिरामीलाई संघीय सरकारले एक लाख रुपैयाँको उपचार सहुलियत दिदै आएको छ । यस्तै संघीय सरकारले मिर्गौला प्रत्यारोपणका लागि भने नगद तथा उपचार शुल्क गरी झण्डै साढे चार लाख नै खर्च गर्दै आएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरीले प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ अनुसार प्रदेशवासीहरुलाई थप उपचार सुविधा दिन लागिएको बताए । उनले निर्णय कार्यान्वयन गर्ने प्रक्रिया अन्तरगर्त नै प्रदेश भित्रका सबै जिल्लाहरुमार्फत स्थानीय तहमा खवर पठाईसकिएको जानकारी दिए ।
‘अब ७ पुस पछि यी उल्लेखित स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई प्रदेश सरकरारले विशेष आर्थिक सुविधा अन्तरगर्त दुई लाख रुपैयाँ उपलव्ध गराउनेछ । त्यसका लागि केही मापदण्ड तोकिएको छ र स्थानीय तहबाट पनि केही प्रक्रियाहरु पुरा गरेको हुनुपर्छ,’ प्रदेश निर्देशक डा. गिरीले भने ।
लुम्बिनीमा गत २८ साउनमा गठन भएको नयाँ सरकारको पहिलो बैठकले यी तीनवटा रोग लागेका लुम्बिनीका स्थायी बासिन्दालाई दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । सोही अनुसार बनाइएको कार्यविधि अहिले पुसमा पास भई लागू हुने चरणमा रहेको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले प्रदेश स्वास्थ्य निर्देशनालयबाट आएको निर्देशन अनुरुप जिल्लाका सबै स्थानीय तहलाई विशेष आर्थिक उपचार सुविधा लिनका लागि जानकारी गराउनका लागि पत्राचार भइसकेको बताए । उनले मापदण्ड भित्र पर्नेहरुले उपचार सुविधा पाउने बाटो खुलेको स्पष्ट पारे ।
सम्पर्क इमेल : [email protected]