पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन एचपीभी खोप लगाउने कि ?
- सृजना कंडेल
काठमाडौँ, १३ माघ । महिलाहरुलाई हुने विभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने क्यान्सर हो । नेपालकै कुरा गर्दा पनि महिलाहरुमा बढी देखिने विभिन्न क्यान्सरको सूची केलाउँदा पाठेघरको मुखको क्यान्सर अग्र स्थानमा छ ।
पाठेघरको मुखको क्यान्सर सचेतना महिनाको सन्दर्भ पारेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको विज्ञप्ती अनुसार सन् २०२० मा मात्रै संसारभर ६ लाख ४ हजार महिलामा पाठेघरको मुखको क्यान्सर देखापरेको अनुमान छ । त्यहिवर्ष वर्ष सोही रोगका कारण ३ लाख ४२ हजारको ज्यान गएको डव्लुएचओले जनाएको छ ।
नेपालमा पनि एक लाख महिलामध्ये १९ जनामा यो समस्या रहेको अनुमान छ । बर्षेनी करीब २ हजार जना नेपाली महिलाहरुको यसै समस्याका कारण मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।
कसरी लाग्छ पाठेघरको मुखको क्यान्सर ?
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक एवं बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा विष्णुदत्त पौडेल भन्छन्, ‘विवाहित महिलामा देखिने पाठेघरको मुखको क्यान्सर एउटा नदेखिने किरा (जम्स)ले गर्दा हुने गर्दछ । त्यसलाई भाइरस पनि भनिन्छ । त्यसको नाम ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) नामले चिनिन्छ । यो भाइरस यत्तिकै महिलाको पाठेघरसम्म पुग्दैन् । जब महिला र पुरुषबीच शारीरिक सम्पर्क अर्थात यौन सम्पर्क हुन्छ त्यसबेला पुरुषद्धारा महिलामा सर्न सक्छ । अर्थात पुरुषविना यो भाइरस आफै महिलाको पाठेघरसम्म पुग्दैन् । महिलामा भाइसर सर्ने माध्यम पुरुष हो ।’
उनी अगाडी थप्छन्, ‘तर यौन सम्पर्क गर्नासाथ नै यो भाइरस देखिन्छ भन्ने छैन् । नसर्न पनि सक्छ । यदि सरेको रहेछ भने पनि आजको भोली नै असर देखिदैन । असर देखिनका लागि कम्तिमा ५ १० वा १५ वर्षसम्म पनि लाग्न सक्छ । अर्थात यसले एकदमै मन्द गतिमा आफ्नो प्रभाव देखाउन सक्छ ।’
त्यसो त ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) भनेको भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ । यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ ।
एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७० प्रतिशत भन्दा बढी क्यान्सर गदाउँछन् ।
यस्तो भाइरसबाट जोगिने उपाय के हो ?
पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्ने एउटा प्रभावकारी र सजिलो माध्यम खोप हो । एचपीभी नाम दिइएको यो खोप अहिले नेपालमा पनि उपलव्ध छ । यो खोप सरकारले निशुल्क उपलव्ध गराउने भनेपनि अहिले पूर्ण कार्यान्वयनमा आइसकेको छैन् ।
यद्धपी पाइलटिङको लागि सरकारले सानो संख्या वा समूहमा निशुल्क दिने योजना अघि सारेको छ । चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ११ देखि १३ वर्षसम्मका ६ हजार किशोरीहरुलाई यसैबर्ष यो खोप दिने योजना बनाएको छ । यस्तै निजी क्षेत्रले सशुल्क रुपमा पनि यो खोप उपलव्ध भएको बताएका छन् ।
पाठेघरको मुखको क्यान्सर सचेतना महिनाको अवसरमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले केही दिन अघि एचपीभी भाइरस भगाउन खोप प्रभावकारी भएको सन्देश सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनले त्यहाँ उल्लेख गरेका थिए, ‘पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी भाइरसलाई खोपद्धारा रोकथाम गर्न सकिन्छ ।’
उनी भन्छन्, ‘एचपीभीलाई खोपद्वारा रोकथाम गर्न सकिन्छ । किशोरीहरूलाई लगाइने खोपको दुई मात्राले उनीहरूको जीवनमा पछि लाग्न सक्ने सर्भाइकल क्यान्सरबाट जोगाउँछ ।’ उनी अगाडी थप्छन्, ‘हरेक महिलाले ३० वर्ष पुगेपछि पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्नुपर्ने र त्यसमा नेगेटिभ आएमा हरेक तीन देखि पाँच वर्षमा पुन परीक्षण हितकर हुन्छ ।’
त्यसो त विश्वका कतिपय मुलुकहरुले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरिसकेका छन् । यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रुपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्याउँछ । यो खोप छ महिनाको अन्तरालमा दुई पटक दिइन्छ ।
स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका पूर्व खोप प्रमुख डा झलक गौतम भन्छन्, ‘महिलालाई पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) बाट जोगाउने पहिलो तरिका (प्राइमरी प्रिभेन्सन) भनेको एचपीभी विरुद्धको खोप नै हो । दोस्रो तरिका (सेकेन्डरी प्रिभेन्सन) भनेको क्यान्सर लाग्नु भन्दा पहिले नै महिलाको उमेर ३० देखि ६० बर्षसम्म प्रत्येक पाँच बर्षको एक पटक नियमित जाँच र उपचार गर्नु हो । तेस्रो तरिका रोगको निरुपण र उपचार गर्ने हो ।’
नेपालमा यो खोप उपलव्ध छ ?
पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन प्रभावकारी मानिएको एचपीभी खोप नेपालमा उपलव्ध छ । चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको संक्रमण मत्थर हुनासाथ ६ हजार बालबालिकालाई एचपीभी खोप दिने तयारी गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा डेजकुमार गौतम भन्छन्, ‘ हामीले खोप ल्याइसकेका छौँ । कोरोना संक्रमण र कोरोना खोपको तिब्रताले केही समय रोकेका हौँ । तर अब छिटै नै एचपीभी सुरु गर्छौं,’ उनले भने ।
सो अस्पतालमा ११ देखि १३ वर्ष उमेर समूहका ६ हजार बालबालिकालाई दुई डोज एचपीभी खोप निशुल्क दिने तयारी भएको डा गौतमले बताए ।
त्यसो त एचपीभी खोप किनेर भए पनि छिटो लगाउँछु भन्नेका लागि भरतपुर क्यान्सर अस्पतालकै अभियान कुर्नु जरुरी पनि छैन् ।
अहिले बजारमा यो खोप सशुल्क पनि उपलव्ध छ । एचपीभी खोप आयातकर्ता यतिकेम डिस्ट्रिव्युटरले ४ हजार २२४ रुपैयाँमा यो खोप उपलव्ध गराइरहेको जनाएको छ । ‘हामीले एचपीभी खोप ल्याएका छौँ । १४ वर्ष मुनिकालाई दुईडोज र त्यसभन्दा माथिकालाई तीन डोज लगाउन सकिन्छ,’ यतिकेमका प्रमुख प्रभुराज बैद्यले बताए ।
बेल्जियमको ग्लैक्सो स्मिथक्लाइन (जीएसके)ले उत्पादन गरेको खोप नेपालका लागि यतिकेम डिस्ट्रिव्युटर प्रालिले ल्याउने गरेको छ ।
सम्पर्क इमेल : [email protected]