कोभिडको उपचारमा के के समस्या छ ? छ वटा अस्पतालको अनुगमन गर्दै उच्चस्तरीय टोली
काठमाडौँ, ५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको अनुगमन समितिले कोभिड – १९ संक्रमितको उपचार गरेका काठमाडौँका ६ वटा अस्पतालको अनुगमन गर्ने भएको छ ।
कोभिड -१९ केश व्यवस्थापन अनुगमन समितिको मंगलबार बसेको बैठकले कोभिड उपचार गर्ने काठमाडौँका तीन वटा सरकारी र तीन वटा निजी अस्पतालहरुको अनुमगन गर्ने निर्णय गरेको हो । ती अस्पतालहरुमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नर्भिक अस्पताल, नेपाल प्रहरी अस्पताल, ग्रिनसिटी अस्पताल र ग्राण्डी अस्पताल रहेका छन् ।
‘यो अनुगमन भन्दा पनि अवलोकन हो । कोभिडको उपचारका लागि अस्पतालमा के समस्या छ ? बेड, प्रेस्किप्सन तथा अक्सिजनको अवस्था के कस्तो छ ? उपचारलाई सहज बनाउन थप के सहयोग गर्नुपर्छ भन्ने जानकारी लिनका लागि अनुगमन गर्न लागेको हो,’ समितिका सदस्यसचिव डा समिरकुमार अधिकारीले भने ।
समितिले अनुगमनका लागि टिम क मा प्राडा नारायणबिक्रम थापा, डा सुभीत मास्के, विन्दा घिमिरे, कुमार थापा र ई आशिष चौहान एनएसआईलाई तोेकेको छ । यस्तै टिम ख बाट डा लोचन कार्की, डा मोहन श्रेष्ठ, प्रज्वलजंग पाण्डे, हेमराज दाहाल र ई सुरेश श्रेष्ठलाई तोकेको छ । यो दुईवटा टीमले आज र भोलीमा तीन तीनवटा अस्पतालको दरले अस्पताल अनुगमन गरी प्रतिवेदन बुझाउने छ ।
गत साता मन्त्रालय अन्तरगर्तको स्वास्थ्य आपतकालिन विपत व्यवस्थापन इकाइ (एचईओसी)ले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति गठन गरेको थियो । सो समितिमा नेपाल नर्सिङ परिषद, फार्मेसी परिषद, नेपाल स्वास्थ्य व्यावसायी परिषद, नेपाल चिकित्सक संघ, नेपाल डेन्टल चिकित्सक संघ, निजी अस्पताल सञ्चालक संघका प्रतिनिधिहरु समेत समेटिएका छन् ।
कोभिड संक्रमणको दोस्रो लहर सुरु भए यता कोभिड संक्रमितको उपचारका लागि अस्पतालहरुमा बेड तथा अक्सिजनको अभाव भएका खबरहरु सार्वजनिक भइरहेको छ । समितिको अवलोकन पछि अस्पतालहरुलाई कोभिडको उपचारका लागि थप सहज हुने अनुमान गरिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

