चीनले नेपाललाई ५ लाख डोज कोरोनाबिरुद्धको खोप तत्काल अनुदानमा दिने
काठमाडौँ, २४ माघ । चीनले नेपाललाई ५ लाख डोज कोरोनाबिरुद्धको खोप अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार भएको टेलिफोन सम्वादमा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोनाबिरुद्धको खोप दिने घोषणा गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचन समेत दिएका छन् ।
चीनले यसअघि १८ माघमा ३ लाख कोरोना खोप दिने बताएको थियो । काठमाडौंस्थित चिनियाँ दूताबासले पनि त्यसको पुष्टि गरेको थियो ।
विदेशमन्त्री वाङले शुक्रबार घोषणा गरेको ५ लाख जोड कोरोना खोप यसअघि भनिएको ३ लाखभित्रै हो कि थप हो भन्ने खुलेको छैन ।
यता काठमाडौँस्थित चिनियाँ दुतावासले कोरोनाबिरुद्धको खोप सिनोफार्म नेपालमा आपतकालिन प्रयोगका लागि स्वीकृति दिन औषधि व्यवस्था विभागसंग अनुरोध गरेको छ । उसले निकै नै छिटो खोप अनुदानमा पठाउन लागेको भन्दै आपतकालिन प्रयोगका लागि स्वीकृति दिन अनुरोध गरेको हो ।
विभागका प्रवक्ता सन्तोष केसीले सिनोफार्म खोपको स्वीकृतिको प्रक्रियामै रहेको भन्दै स्वीकृति भईनसकेको बताए । उनले भने, ‘केही कागजातहरु आएका छन् । केही अझै बाँकी नै छ । बाँकी कागजात आएपछि हामीले स्वीकृति दिनसक्छौँ ।’
चिनियाँ पक्षले सिनोफार्म खोप विश्वका १३ वटा मुलुकमा प्रयोग भईसकेको जानकारी दिएको छ ।
यसअघि नेपाललाई भारतले १० लाख भाइल खोप अनुदानमा दिएको थियो । सो अनुदान पछि नेपालमा कोरोनाबिरुद्धको खोप अभियान शुरु गरिएको हो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

