भेरी अस्पतालले सार्वजनिक गर्यो कोरोनाबाट मृत्यु भएका डा. सापकोटाको उपचार विवरण
काठमाडौँ, १५ असोज । नेपालगञ्जस्थित भेरी अस्पतालले कोरोनाबाट आज निधन भएका डा. हरिप्रसाद सापकोटा उपचार विवरण सार्वजनिक गरेको छ । उसले डा. सापकोटालाई बचाउनका लागि हरसम्भव प्रयास गरे पनि त्यो सफल हुन नसकेको विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।
अस्पतालले डा. सापकोटाको बारेमा अपरान्ह सवा ५ बजे जारी गरेको विज्ञप्ती यस्तो छ ।
विज्ञप्ती
कर्णाली प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा हरी प्रसाद सापकोटा, ५९/पुरुषलाई COVID-19 संक्रमण भइ (पहिचान मिति – भदौ २९, २०७७) सोहि अस्पतालमा उपचाररत रहेकोमा स्वास प्रस्वासमा समस्या आएको हुँदा असोज १, २०७७ मा यस अस्पतालको कोभिड बिशेष आइसोलेसन वार्डमा भर्ना गरि उपचार सुरु गरिएको,
वहाँ डायबेटिजको निम्ति इन्सुलिन र उच्च रक्तचापको निम्ति नियमित औषधि लिइहनुभएको भएतापनि अस्पतालमा भर्ना हुँदा वहाँको सुगर नियन्त्रणमा थिएन ।
वहाँलाई सुरुमा अक्सिजन, ब्लड सुगर नियन्त्रणको निम्ति बिभिन्न किसिमका इन्सुलिन र एन्टिबायोटिकमा राखिएको थियो । साथै, अक्सिजन स्याचूरेसन मेन्टेन नभइरहेककोले CPAP (Continuous Positive Airway Pressure) मा राखि उपचार सुरु गरिएको । CPAP मा पर्याप्त अक्सिजन स्याचुरेसन मेन्टेन नभएकोले BIPAP (Bilevel Positive Airway Pressure) तथा पछि HFNC (High Flow Nasal Canula) मा समेत राखि उपचारको गरिएको । यस बिचमा वहाँलाई Remdesivir साथै प्लाज्मा थेरापी समेत प्रयोग गरिएको थियो ।
उपचारको क्रममा वहाँको स्वास्थ्यमा आशातित सुधार नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकोप्टर मार्फत थप सुविधा सम्पन्न ठाउँमा प्रेषण गर्ने हरसंभव प्रयास गरिएको भएतापनि अक्सिजन स्याचूरेसन निकै कम भएको हुँदा प्रेषणकै क्रममा कुनै दुर्घटना हुने संभावना देखि गर्न नसकिएको ।
सबै प्रयासका वावजुद पनि वहाँको फोक्सोमा सुरुमा निमोनिया र सोको परिणाम स्वरुप Severe Acute Respiratory Distress Syndrome (ARDS) बिकास भइ अक्सिजन स्याचुरेसन घट्दो रहेकोले आज बिहान ६ बजे Endotracheal Intubation गरि कृत्रिम स्वास प्रस्वास प्रणाली (Mechanical Ventilator) मा राखिएको। करीब १२ बजे मुटुको चाल बन्द हुँदा Cardio Pulmonary Resuscitation (CPR) गरि व्यूँताउन सफल भएतापनि अन्तत्वागोत्वा दिउसो ३:३० Irreversible Cardiac Arrest भइ मृत घोषणा गर्नु परेको ।
डा सापकोटाको मृत्यूले देशको स्वास्थ्य क्षेत्रमा एक अपूरणीय क्षति भएको छ भने राष्ट्रले एक सच्चा सेवक गुमाएको छ ।
यस शोकको घडीमा परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
असोज १५, २०७७
अपराह्न ५ बजे
सम्पर्क इमेल : [email protected]