सुदूरपश्चिम प्रदेशले पूर्ण कार्यान्वयनमा ल्यायो एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली

धनगढी, २७ भदौ ।  हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एचएमआईएस) प्रणाली अन्तरगर्त रही अनलाइन पद्धतीबाट जिल्ला तथा स्थानीय तहका स्वास्थ्यको विवरण लिने सुदूरपश्चिम प्रदेशले आफ्नो पद्धतीमा लजिष्टक म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एलएमआईएस) पनि जोडेको छ ।

सुदूरपश्चिमले गत विहीबारबाट एचएमआईएससंगै एलएमआईएस सूचना प्रणालीबाट सूचना लिन थालेको हो । यो संगै सुदूरपश्चिम प्रदेश एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गर्ने पहिलो प्रदेश बनेको छ ।

भर्च्युअल विधिबाट गरिएको कार्यक्रममा सुदूरपश्चिमका प्रमुख सचिव रामकृष्ण रेग्मी, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले एलएमआईएस अनलाइन विधिबाट अपडेट गर्ने कार्यको शुभारम्भ गरे ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ वटा स्थानीय तहका स्वास्थ्य संस्थाले एचएमआईएससंगै एलएमआईएस सम्वन्धी विवरण अनलाइन अपडेट गर्न शुरु गरेको बताए ।

दुई बर्ष अघि संघीय सरकारले स्वास्थ्यका फरक फरक सूचना प्रणालीलाई एकीकृत गरी अनलाइन प्रणालीबाट अध्यावधिक गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत रहेको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली अर्थात इन्टिग्रेटेड हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईएचएमआईएस ) शाखाका प्रमुख बद्रीनाथ ज्ञवालीले स्वास्थ्य सूचना प्रणाली एकीकृत गर्ने संघीय सरकारको निर्णय प्रदेश तहबाट लागू गर्ने सुदूरपश्चिम पहिलो भएको बताए । उनले अब फरक फरक च्यानलबाट आउने सूचना प्रणाली एकीकृत ढंगबाट आउने र त्यो पनि तत्काल अपडेट हुने हुँदा स्वास्थ्य क्षेत्रको अवस्था छर्लङ्ङ हुने बताए । उनले अब बाँकी प्रदेशमा पनि सोही अनुसार नै सूचना प्रणाली लागू हुने जानकारी दिए ।

प्रदेश निर्देशक डा अवस्थीले ८८ वटा स्थानीय निकायको अधिकांश स्वास्थ्य संस्थामा इन्टरनेटको पहुँचमा पुगेको भन्दै नपुगेको ठाँउमा छिमेकका स्वास्थ्य संस्थामा पुगेर विवरण अपडेट हुने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *