चिकित्सक लाइसेन्स परीक्षा २० भदौमा गर्ने तयारी

काठमाडौँ, १४ भदौ ।  नेपाल मेडिकल काउन्सिल कोरोना महामारीका कारण यसअघि स्थगित गरेको चिकित्सकहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी २० भदौमा सञ्चालन गर्ने तयारीमा जुटेको हो । स्वास्थ्य शिक्षा र प्रधानमन्त्री कार्यालय तथा कोभिड -१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) समेतलाई जानकारी गराएरै काउन्सिल परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको हो ।

काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले परीक्षा २० भदौमा गर्ने तयारीमा आफूहरु जुटेको बताए । उनले यसपटक देखि कम्प्युटर सिस्टममा परीक्षा लिने तयारी भएपनि त्यो सम्भव नभएको भन्दै पुरानै पद्धतीमा परीक्षा लिन थालिएको बताए । तर उनले यसपटक उपत्यका र उपत्यका बाहिर गरी करीब १६ स्थानमा परीक्षाकेन्द्र तय गरिएको बताए ।

लाइसेन्स परीक्षाका लागि कहाँ कहाँ छ परीक्षा केन्द्र ?
बिराटनगरमा बिराट मेडिकल कलेज, धरानमा बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, जनकपुरमा जानकी मेडिकल कलेज, वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा परीक्षा केन्द्र तोकिएको छ ।

यस्तै चितवनमा कलेज अफ मेडिकल साइन्सेज, बुटवलमा देवदह मेडिकल कलेज, नेपालगञ्जमा नेपालगन्ज मेडिकल कलेज, पोखरामा मणिपाल मेडिकल कलेज गरी ९ वटा परीक्षा केन्द्र तोकिएको छ ।

यता काठमाडौँमा सातवटा केन्द्र तय भएको छ । नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान, किष्ट मेडिकल कलेज, महाराजगञ्ज मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, पिपुल्स डेन्टल कलेज, नेपाल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा परीक्षा सञ्चालन हुनेछ ।
परीक्षाका लागि एउटा हलमा २५ जना र एउटा परीक्षा भवनमा ५० जनासम्म सहभागी गराइनेछ । एउटा परीक्षा केन्द्रमा बढीमा १०० जना सम्म राख्न सकिनेगरी व्यवस्था मिलाइएको समेत डा अधिकारीले बताए ।

परीक्षा हलमा स्वास्थ्य सुरक्षा र परीक्षाका लागि हुनुपर्ने आवश्यक सुरक्षाको व्यवस्था मिलाइने समेत उनले जानकारी दिए ।

यो तयारी गरेपछि पनि परीक्षा नसर्ने भन्ने के ग्यारेन्टि छ ? भन्ने प्रश्नमा काउन्सिल रजिष्ट्रार अधिकारीले यसपटक परीक्षा नसर्ने सम्भावना बढी रहेको बताए । ‘धेरै स्थानमा १७ भदौमा निषेधआज्ञा सकिदैछ । कम्तिमा सो हप्ता निषेधाज्ञा नहोला । भएपनि स्थानीय तहमा आइजाई गर्न नेपाल मेडिकल काउन्सिलको परीक्षार्थी हो भन्ने प्रवेश पत्र देखाईसकेपछि रोकतोक नगर्ने भन्ने पनि व्यवस्था मिलाउन सकिन्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *