स्वास्थ्य मन्त्रीलाई बिज्ञको सुझाव : ‘प्लाज्मा बैंक बनाउँ, मास्क निशुल्क वितरण गरौँ’
काठमाडौँ, ११ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड -१९ रोकथाम तथा नियन्त्रणका सम्बन्धमा भैरहेको कामका सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्चअधिकारीसहित मन्त्री ढकालले भर्चुवल माध्यमबाट स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका हुन् ।
छलफलमा मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राखेका थिए । उनले कोभिड -१९ नियन्त्रणमा देखा परेका चुनौतिको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताए । कोरोनाविरूद्ध पहिलो भागमा राखेर खटिरहेका चिकित्सक, नर्स, स्वास्थयकर्मी, सुरक्षाकर्मी लगायतलाइ धन्यवाद दिँदै सबैले उहाँहरुको हौसला बढाउनुपर्ने बताए ।
छलफलमा सहभागी हुँदै डा महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका थिए । उनले कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर नगएको भन्दै संक्रमितको संख्या धेरै देखिए पनि संक्रमणको दर घट्दोक्रममा रहेको बताए । उनले कोरोना नियन्त्रणका लागि मन्त्रालयले गरेको प्रयास प्रभावकारी रहेको भन्दै सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने बताए ।
प्रा डा जीवन शेरचनले मास्क ठूलो मात्रामा उत्पादन गरेर जनतामा बितरण गर्नुपर्ने बताए । उनले कतिपय नागरिक मास्क किन्न सक्ने हैसियामा समेत नरहेको भन्दै उनीहरू पनि घरबाहिर निस्कनु पर्ने र काममा जानुपर्ने अवस्था रहेको भन्दै मास्क सरकारले निशुल्क बितरणको व्यवस्था मिलाउनुपर्ने बताए । उनले नमुना परीक्षणको नतिजा अझै छिटो र व्यवस्थित रूपमा दिनुपर्ने बताएका थिए ।
छलफलमा सहभागी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्रा डा भगवान कोइरालाले दशैं लगायतका महत्वपूर्ण चाड नजिकै आइरहेको सन्दर्भमा प्रोटोकल बनाएर नागरिकहरूलाई सहजिकरण गर्नुपर्ने बताए । उनले अस्पताल संक्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिए ।
छलफलमा नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा अलिबढी ध्यान दिनुपर्ने बताए । टेकु अस्पतालका अस्पताल डा अनुप बास्तोलाले भेन्टिलेटरमा जाने भन्दा पनि अक्सिजन थेरापीलाई महत्वका साथ अघि बढाउनुपर्नेमा जोड दिए । उनले अक्सिजन थेरापी भेन्टिलेटर भन्दा राम्रो र प्रभावकारी रहेका भन्दै सरकारले त्यसको व्यवस्थापन गर्न जोड दिनुपर्ने बताए ।
छलफलमा स्वास्थ्य मन्त्रालयकाका तर्फबाट सचिव लक्ष्मण अर्याल, मन्त्रीका सल्लाहकार डा खेमबहादुर कार्की, सहसचिव डा गुणराज लोहनी, प्रवक्ता प्रा डा जागेश्वर गौतम, डा गुणनीधि शर्मा लगायत सहभागी थिए ।
सम्पर्क इमेल : [email protected]