कोरोना परीक्षणका लागि थप ४५ करोड बढीको स्वास्थ्य सामग्री खरीद हुँदै
काठमाडौँ, ९ भदौ । कोरोना संक्रमण हुने क्रम बढदै जाँदा सरकारले परीक्षणका लागि चाहिने अत्यावश्यक परीक्षण किट तथा स्वास्थ्य सुरक्षा सामग्री खरीद प्रक्रियालाई तिब्रता दिएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति व्यवस्था शाखाले यसै हप्ता ४३ करोड बढीको स्वास्थ्य सामग्री खरीदका लागि टेन्डर आव्हान गरेको छ ।
शाखाले यसै हप्ता तीन लाख गोटा आरटीपीसीआर किट, सोही परिमाणमा भिटिएम, ५० हजार आरएनए एक्सट्याक्सन किट लगायतको सामग्री खरीदका लागि टेन्डर आवहान गरेको हो । यस्तै ५ करोड रुपैयाँको पीपीई सेट समेत खरीदका लागि टेन्डर आव्हान भैसकेको छ ।
व्यवस्थापन महाशाखाका प्रमुख डा रमेश खरेलले आपूर्ति व्यवस्था शाखाले यो साता टेन्डर प्रक्रिया अघि बढाएको भन्दै सम्झौँता भएको बढीमा १० दिनसम्ममा सामान आईपुग्ने जानकारी दिए । उनले ३५ करोड रुपैयाँको आरटीपीसीआर, झण्डै ५ करोडको भिटिएम र त्यत्ति नै रुपैयाँ बराबरको पीपीई सेट खरीदका लागि टेन्डर आवहान भएको बताए ।
स्वास्थ्यको प्रक्षेपण असोज मसान्तसम्म नेपालमा संक्रमण १ लाख ८० हजार पुग्न सक्छ
कोभिड -१९ स्वास्थ्य क्षेत्र दु्रत योजनामा नेपालमा कोरोना संक्रमणको अवस्था खराब रुपमा अघि बढ्यो भने असोजको अन्तिमसम्ममा १ लाख ८० हजार व्यक्ति संक्रमणमा पर्ने प्रक्ष्येपण गरेको थियो ।
गत असारको पहिलो साता देखि असोजको अन्तिम सम्मको १६ हप्तायो यो योजनामा आईसीयू र भेन्टिेलटरमा जाने व्यक्तिको संख्या २० हजारको हाराहारीमा पुग्ने अनुमान थियो । यस्तै मृत्यु हुनेको संख्या पनि उल्लेख्य हुने अनुमान छ ।
केही समय अघिसम्म प्रक्षेपण अनुसार संक्रमण नहुने जस्तो देखिएको थियो । तर पछिल्ला हप्ताहरुको विवरणले भने झस्काई दिएको छ । संक्रमितको संख्या पनि बढेको छ, आइसीयू र भेन्टिलेटरमा जानेको संख्या बढेको छ । मृत्यु हुनेको संख्या पनि बढेको छ । यसले प्रक्षेपण अनुसार नै नपुगेपनि अवस्था बिग्रदोक्रममा अघि बढी रहेको छ भन्ने स्पष्ट पारेको छ ।
हरेक दिन १५ हजार परीक्षण हुने अनुमानका साथ तयारी
देशका ४० बढी प्रयोगशालाको क्षमता दैनिक २० हजार बढी भएपनि अहिलेसम्म एक दिनमा परीक्षण १४ हजार नाघेको छैन् । आपूर्ति व्यवस्था शाखाले भने गत असार देखि नै दैनिक १५ हजार परीक्षण हुने अनुमानका साथ सामग्री व्यवस्थापन गरेको जनाएको छ ।
व्यवस्थापन महाशाखा प्रमुख डा खरेलले भने, ‘हामीले गत असार देखि नै परीक्षणको दर दैनिक १५ हजार हुन्छ भन्ने हिसाव अनुसार नै आवश्यक सामग्रीहरुको व्यवस्थापन गरिरहेका छौँ । त्यसैले अहिलेका लागि अभाव छैन् । हाम्रो योजना खराव अवस्था हुँदै गएपनि परीक्षणका लागि किट अभाव नहोस भनने नै हो ।’
उनले अव आईसीयू र भेन्टिलेटर खरीदको योजना समेत अघि बढाउँदै गएको सुनाए ।
सम्पर्क इमेल : [email protected]