तीन पटक ‘सिजरियन’ गरिएकी महिलाको ‘ल्याप्रोस्कोपिक’ विधिबाट पाठेघरको अप्रेशन

काठमाडौँ, २९ साउन ।  तीन पटक सिजिरियन अर्थात शल्यक्रिया मार्फत प्रसूति भएकी ९७ किलो तौल भएकी महिलाको नर्भिक अस्पतालमा दुरबिनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । काठमाडौँकी ४३ बर्षीया सुनिता श्रेष्ठको ल्याप्रोस्कोपिक सर्जन एवं टेष्ट ट्युव वेवी बिशेषज्ञ डा. नुतन शर्माले दुरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गरेकी हुन ।

‘सामान्यतः तेस्रो अप्रेसनपछि पेट चिरेर शल्यक्रिया गर्नु निकै कठिन हुने गर्दछ, त्यसमा पनि ९७ किलो तौल भएकी महिलाको मोटोपनाका कारण दुरबिनबाट शल्यक्रिया गर्नु अझै कठिन र दुर्लभ हो, डा. शर्माले भनिन् ‘तर आधुनिक प्रविधि र दक्षताका कारण नेपालमै हामीले जटिल भन्दा जटिल शल्यक्रिया पनि ल्याप्रोस्कोपिक विधि मार्फत गर्न सम्भव बनाएका छौ ।’

प्रसूति गराउने शल्यक्रिया बाहेक स्त्री रोगसँग सम्बन्धित सबै रोगको उपचार अब दुरबिन प्रविधिबाट सम्भव भएको डा. शर्माले बताइन । उनले दुरबिन प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीका लागि स्वास्थ्यका दृष्टिकोणले निकै सुविधायुक्त र आरामदायी भएपनि जनचेतनाको अभावमा कतिपयले यो विधिद्धारा शल्यक्रिया गराउन अझैपनि अफ्ठेरो मान्ने गरेको बताइन् ।

उनले भनिन, ‘मैले १५ बर्षदेखी स्त्री रोगसँग सम्बन्धित रोगको उपचार गर्दै आएको छु, तर दुरबिनबाट गरिने शल्यक्रियामा बिरामीलाई निकै सहजता हुन्छ, शल्यक्रियाको अर्काे दिन बिरामी हिड्न सक्छ, पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिने हुँदा घाउ पाक्ने, दुख्ने महिना दिनसम्म आराम गर्नुपर्ने आवश्यकता हुँदैन ।’

‘दुई दिनमा अस्पताल बसाई सकेर बिरामी एक हप्तामा आफ्नो नियमित काममा फर्किन सक्छ । कतिपय बिरामीमा दुरबिनबाट शल्यक्रिया गर्दा पाठेघरको टुक्रा पेटभित्र छुट्ने, पुर्णरुपमा रोगको उपचार नहुने भन्ने भ्रम रहेको पाइयो,’ डा. शर्माले भनिन, ‘ पेट चिरेर गरिने भन्दा दुरबिनबाट गरिने अप्रेशन कयौ गुणा राम्रो हो, यसमा कुनै खालको जोखिम हुँदैन ।’

यो शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था समेत तुलनात्मक रुपमा निकै राम्रो हुने गरेको डा. शर्माको भनाई छ । हाम्रो आँखाले नदेख्ने कतिपय कुरालाई दुरबिनले अझै स्पष्ट गरेर देखाउने भएकाले शल्यक्रियामा दुरबिन प्रविधि सवै भन्दा उत्कृष्ट भएको डा. शर्माको भनाई छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *