मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएपछि किष्ट अस्पतालका डाक्टर, नर्स सहित ३१ जना क्वारेन्टिनमा

काठमाडौँ, १५ जेठ । बुधबार मृत्यु भएका एक जना बिरामीमा कोरोना भाइरस(कोभिड – १९)को संक्रमण देखिएपछि किष्ट मेडिकल कलेज टिचिङ हस्पिटलले उनको सम्पर्कमा पुगेका चिकित्सक, नर्स, प्यारामेडिक्स र अन्य गरी ३१ जनालाई क्वारेन्टिनमा राखेको छ ।
अस्पतालले ११ देखि १४ जेठसम्म उपचार गरिएका ती व्यक्तिको प्राइमरी कन्ट्याक्टमा रहेका अस्पतालका चिकित्सक, नर्स तथा अन्य गरी ३१ जनालाई क्वारेन्टिनमा राखेको हो ।
अस्पतालले मृत्यु भएको विरामीको उपचारमा प्रयोग भएको आकस्मिक कक्षको एउटा भाग र मेडिकल आइसीयु(एमआईसीयू) सील गरि डिसइन्फेक्सन गर्ने तयारी गरेको छ ।
कलेजो रोगको समस्यामा परेका ललितपुर महानगरपालिका – २२ का ५६ बर्षिय पुरुषलाई गत ११ जेठ रातीको १० बजे परिवारले किष्ट हस्पिटल पुर्याएका थिए । तर बुधबार अपरान्ह ५ बजे तिर उनको ज्यान गएको थियो ।
‘११ गते राती १० बजे ल्याउनु भएको हो । १२ बजे विहानै हामीले स्बाव पठाएका थियौँ । तर त्यसको रिपोर्ट हिजो बेलुका सात बजे तिर मात्रै आइपुग्यो । अपरान्ह ५ बजेतिर ज्यान गएपनि हामीले रिपोर्ट पर्खियौँ । रिपोर्ट पोजेटिभ आएपछि हामीले गाइडलाइन अनुसार शबलाई प्लास्टिक र्यापिङ गरी सुरक्षित ढंगले शवगृहमा राखेका छौँ,’ अस्पतालका चीफ अपरेटिङ अफिसर असिम पाठकले भने ।
उनले विरामी अस्पताल आए देखि उनको उपचार तथा सेवामा खटिएका सिनियर कन्सलटेन्ट डाक्टर, मेडिकल अफिसर, इन्टर्न, नर्स, हाउसकिपिङ लगायतको सबैको कन्ट्याक्ट कन्ट्याक्ट ट्रेसिङ गरी मापदण्ड अनुसार अस्पतालकै क्वारेन्टिनमा राखेको बताए ।
उनले लगनखेलस्थित राजदल गण, जिल्ला प्रहरी, स्वास्थ्य कार्यालय ललितपुर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुसंग छलफल चल्दै गरेको र डव्लुएचओको मापदण्ड अनुसार शब व्यवस्थापन तथा दाहासंस्कारका लागि पठाउने बताए ।
‘हामीकहाँ इन्टरनल कोभिड कमिटी छ । उसले यो सबै कार्यको समन्वय गरेको छ । सरकारले बनाएको प्रोटोकल अनुसार हामीले चल्ने हो र चलेका छौँ,’ पाठकले भने ।
किष्ट अस्पतालमा भएको यो मृत्युसंगै नेपालमा कोरोना संक्रमणमा परी मृत्युहुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बाराका गरी ४ जनाको मृत्यु भएको थियो । यी मध्ये गुल्मीका एक जना व्यक्तिको रिपोर्ट मात्रै मृत्यु नहुँदै आएको थियो । अरुको भने मृत्यु भइसकेपछि कोरोना भएको पुष्टी भएको हो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

