पूर्व प्रधानन्यायधीश कार्कीले भेटिन डा. केसीलाई र, भनिन् ‘तपाईँको माग पुरा हुन्छ’
काठमाडौँ, १६ माघ । पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले डा गोविन्द केसीलाई भेटेकी छन् ।केही बेर अघि त्रिवि शिक्षणमा पुगेर उनले डा. केसीलाई भेटेकी हुन् । सो क्रममा उनले डा. केसीलाई माग पुरा हुने आश्वासन दिदैँ निश्चिन्त रहन आग्रह गरेकी छन् ।
त्यसअघि पत्रकारसंग कुरा गर्दै सरकारलाई डा. केसीको माग पुरा गर्नुको विकल्प नभएको बताएकी छन् । डा केसीको माग पुरा गर्दा कसैको हार नहुने भन्दै त्यस तर्फ ध्यान दिन सरकार र सांसदलाई आग्रह गरेकी छन् ।
‘उनीहरु पनि निर्वाचित भएर आएका हुन् । डा. केसीले उठाएका मुद्धा पनि बुझेकै छन जस्तो लाग्छ । उहाँको सत्याग्रह न आफ्ना लागि हो न कुनै पार्टीका लागि हो । उहाँ त देशका लागि अनशन बस्नु भएको हो । तीन करोड नेपालीका लागि त्यसैले उहाँको माग राज्यले पुरा गर्नैपर्छ,’ कार्कीले भनिन् ।
उनले पछिल्लो समय मेडिकल शिक्षामा देखिएको सुधार डा. केसीकै लडाईको उपज भएको समेत बताइन ।
हिजो मात्रै अर्का पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठ त्रिवि शिक्षण अस्पताल पुगी डा. केसीलाई भेटेका थिए । उनले पनि राज्यले डा. केसीको माग पुरा गर्नुपर्ने बताएका थिए ।
डा. केसीे अनशनको आज २२ औँ दिन हो । अनशन लम्बिदै जाँदा उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।
यता सरकार भने डा केसीको माग पुरा भईसकेको बताउँदै अनशन बस्नु आवश्यक नभएको बताउँदै आएको छ ।
सम्पर्क इमेल : [email protected]