‘क्षयरोगको नयाँ तथ्य ६ महिना पछि आउने’
काठमाडौँ, २४ पुस । सरकारले पछिल्लो पटक शुरु गरेको क्षयरोग प्रारम्भिक सर्वेक्षण (प्रिभिलेन्स सर्भे) को काम करीब ६५ प्रतिशत सम्पन्न भएको जनाएको छ । सत प्रतिशत सम्पन्न हुन अझै ४ देखि ६ महिना लाग्न सक्ने बताइएको छ ।
सर्भे आयोजक राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आगामी अप्रिलसम्ममा सर्भेको रिपोर्ट आइसक्ने र त्यसको विश्लेषण गर्न थप केही समय लाग्ने बताएको छ ।
सन् २०३० सम्ममा क्षयरोग उन्मुलन गर्ने अभियानका साथ अघि बढेको सरकारले पछिल्लो अवस्थाको विश्लेषण गरी नयाँ रणनीति चाल्न यो सर्भे गरेको हो ।
केन्द्रका निर्देशक डा. भिमसिंह तिंकरीले प्रिभलेन्स सर्भेको काम ६५ प्रतिशत पुरा भएको बताए । ‘हामीले सर्भेका लागि ५५ जिल्लामा ९९ वटा क्लस्टर तयार पारेर सर्भेलाई अघि बढाएका हौँ । अहिलेसम्म ६४ वटा क्लस्टरको काम सकियो । बाँकी ३५ वटा क्लस्टरको काम आगामी अप्रिलसम्म सकिएला,’ डा. तिंकरीले भने । उनले सर्भेमा करीब ५८ हजार जनसंख्या समेटिने बताए ।
विश्वस्वास्थ्य संगठनले नेपालमा प्रतिवर्ष ४५ हजार बढी क्षयरोगका नयाँ केश हुनसक्ने अनुमान गरेको छ । तर सरकारको सम्पर्कमा बार्षिक ३२ हजार मात्रै नयाँ केश आउने गर्दछ । हराई रहेका करीब १२ हजार केश भेटाउन अहिलेको लागि चुनौती रहेको बताइएको छ ।
‘यो सर्भेले क्षयरोगको अवस्था के छ ? कुन रणनीति अपनाउनुपर्ने हो ?आदिबारेमा विस्तृत जानकारी दिन्छ । सोही अनुसार सरकारले कदम चाल्छ । हाम्रो उद्धेश्यले नेपाललाई सन् २०३० सम्म क्षयरोग मुक्त बनाउने भन्ने नै हो,’ निर्देशक डा तिंकरीले भने ।
क्षयरोग नियन्त्रण गर्न सन् १९९६ मा डट्स कार्यक्रम शुरु गरेको सरकारले त्यसको १० बर्ष पछि अर्थात सन् २००६ पछि स्टप टिवि रणनीति अख्तियार गरेको थियो । त्यसको पनि १० बर्ष पछि अर्थात सन् २०१६ देखि २०२१ सम्म भने ५ बर्षे नयाँ रणनीति इन्ड टिवि स्टारटेजी अघि सारेको छ । सोही अनुसार अहिले प्रिभलेन्स सर्भेको काम अघि बढेको हो ।
सम्पर्क इमेल : [email protected]