प्रधानमन्त्री अस्वस्थ : स्वाइन फ्लुको आशंकामा ‘थ्रोट स्वाब’ परीक्षण
काठमाडौँ, १२ कात्तिक । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी ओलीलाई स्वाइन फ्लु भनेर चिनिने ‘इन्फ्लु एन्जा ए एच१एन१’ भएको आशंका समेत चिकित्सकहरुले गरेका थिए । उनीहरुले हिजो विहान बालुवाटारबाटै प्रधानमन्त्री ओलीको ‘थ्रोट स्वाव निकाली परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएका थिए । तर परीक्षणमा एच१एन१ नेगेटिभ देखिएको प्रयोगशाला स्रोतले बतायो ।
छातीमा संक्रमण देखा पर्नु ज्वरो समेत आउनु र लक्षण समेत मिल्नुले चिकित्सकहरुले ‘एच १ एन१’ को समेत परीक्षण गराएका हुन् । रोग प्रतिरोधात्मक क्षमता अन्यन्त कमजोर भएका प्रधानमन्त्रीलाई सामान्य मानिने समस्या समेत जटिल बन्न सक्ने भन्दै चिकित्सकहरुले सबै सम्भावनामा सचेत बनेका हुन् ।
दशै लगत्तै अस्वस्थ बनेका प्रधानमन्त्री ओली गत शनिबार नेकपाद्धारा आयोजित चियापान कार्यक्रममा समेत सहभागी भएनन् । यहिवेला उनका मुख्य चिकित्सक डा दिव्यासिंह शाह अमेरिका थिइन । उनी आज विहान १ बजे मात्रै अमेरिकाबाट फर्केकी हुन् । उनको अनुपस्थितिमा अर्का चिकित्सक डा. दिलीप शर्माको संयोजनमा चिकित्सकहरुको टोली उपचारमा खटिएको थियो । डा. शाह आएपछि उपचारको नेतृत्व उनैले सम्हालेकी छन् ।
प्रधानमन्त्री ओलीको उपचारमा सम्लग्न बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले मुख्य समस्या छातीको इन्फेक्सन नै भएको बताए । उनले अहिले सुईवाट एन्टीबायोटिक चलाएको र सुधार भइरहेको जानकारी दिए । ‘अस्ती सम्म भाइरल ज्वरो देखिएको थियो । शनिबार नै हामीले यहि ल्याएर एक्सरे समेत गर्यौँ । केही एन्टीबायोटिक शुरु पनि गरेका थियौँ । तर बालुवाटारमै बसेर आराम गर्ने भन्ने कुरा गर्नु भयो हिजो मध्यान्न सम्म त सुधार देखिएको थियो । तर क्याविनेट र अरु धपेडिले पनि हुनसक्छ राती समस्या बढ्यो । विहान फेरी यहाँ ल्याइयो,’ डा. सायमीले भने ।
उपचारमा सम्लग्न अर्का एक चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई हिजो दिउसो २ बजेबाट समस्या बढेको हो । ज्वरो आउने खोकी लाग्ने र घाँटीमा घ्यार घ्यार बढ्ने भएपछि उनलाई एका विहानै अस्पताल पुरयाइएको हो । ‘घ्यार घ्यारको समस्या हो तर निमोनिया देखिएको छैन् । किनभने हामीले आजै पनि एक्सरे गरयौँ, व्लड हेर्यौँ । तर घ्यार घ्यार रोक्न स्टोरोइड भन्ने औषधि चलाउनु पर्छ । हामीले त्यसैका लागि उहाँलाई अस्पताल ल्याएका हौँ । अब कम्तीमा ७२ घण्टा त यहि नै रहनुहुन्छ,’ उनले भने ।
सेन्टरको भिआईपी सिसियु कक्षमा राखिएका प्रधानमन्त्रीको उपचार टिममा अहिले डा. सिंहको नेतृत्वमा डा. शर्मा, डा. सायमी, डा. शन्तकुमार दास, डा. सुवास आचार्य सहितको टोली खटिएको छ ।
सम्पर्क इमेल : [email protected]