बागलुङमा स्वास्थ्य कार्यालय स्थापना

304
Shares

बागलुङ, २६ भदौ । गण्डकी प्रदेश मातहत रहने गरी बागलुङमा स्वास्थ्य कार्यालय स्थापना भएको छ । कार्यालयको कार्यक्षेत्र बागलुङ, पर्वत र म्याग्दी तोकिएको छ ।

कार्यालयको सोमबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले उद्घाटन गर्दै तत्कालको लागि प्रदेशका पाँच जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गरिएको बताए । “केन्द्र सरकाले निर्णय गरेबमोजिम कार्यालय स्थापना भएका छन्, हाम्रो माग ११ वटै जिल्लामा हुनुपर्छ भन्ने हो ।”

पाँच कार्यालयले मात्र प्रदेशका सबै जिल्लामा प्राविधिक सहयोग तथा समन्वयको काम गर्न नसक्ने उनको भनाइ छ । मन्त्री पुनमगरले प्रदेशको स्वास्थ्य ऐन बन्न लागेको भन्दै स्वास्थ्य क्षेत्रको आवश्यकता र समस्यालाई सम्बोधन गर्ने गरी ऐन बन्ने बताए ।

कार्यालयमा वरिष्ठ जनस्वास्थ्य प्रशासकसहित १४ कर्मचारीको दरबन्दी छ । कार्यालयले औषधि, विशेषज्ञ सेवा, खोप व्यवस्थापन र स्थानीय तहमा प्राविधिक सहयोग लगायतका काम गर्नेछ । बागलुङसँगै स्याङ्जा, कास्की र तनहुँ हेर्ने गरी कास्कीमा, लमजुङ र मनाङ हेर्ने गरी लमजुङमा, गोरखा र नवलपरासी हेर्ने गरी गोरखामा र मुस्ताङमा स्वास्थ्य कार्यालय स्थापना भएको छ ।

मन्त्री पुनमगरले सोमबार नै बागलुङ, पर्वत र म्याग्दी हेर्ने गरी बागलुङमा स्थापना भएको आयुर्वेद औषधालयको पनि उद्घाटन गरे। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *