मुलुकी ऐनको विरोधमा ४ हजार चिकित्सकले लाइसेन्स बुझाउँदै

464
Shares

काठमाडौँ, १६ भदौ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को विरोधमा आन्दोलनको घोषणा गरेका चिकित्सकहरुले आइतबार नेपाल मेडिकल काउन्सिल पुगेर चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) बुझाउने बताएका छन् । नेपाल चिकित्सक संघले आफ्ना सदस्यहरुबाट संकलन गरेको करीब ४ हजार बढी लाइसेन्स विहान १० बजे काउन्सिलमा लगेर बुझाउन लागेको हो ।

लाइसेन्स बुझाएपछि बिरामीको उपचारमा सहभागी हुन नपर्ने भनेरै यस्तो गर्न लागिएको संघले जनाएको छ । त्यसो त संघले भोलि एक दिनका लागि अस्पतालका आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । माग पुरा नभए बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्ने र शुक्रबारबाट अनिश्चित कालिन हडतालमा उत्रिने जनाएको छ ।

चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले मुलुकी ऐनको कतिपय बुँदामा भएका प्रावधानका कारण चिकित्सकीय सेवा गर्न असमर्थ हुने भन्दै लाइसेन्स बुझाउन थालिएको बताए । यो कानुनमा रहेर सेवा गर्न सकिदैन । सेवा नगरे अर्को मुद्धा लाएर फेरी फसाउन सक्ने हुनाले बरु लाइसेन्स नै तिमिहरु नै राख भनेर विरोध स्वरुप लाइसेन्स बुझाउन थालिएको बताए । उनले थप चिकित्सकको लाइसेन्स जम्मा गरी बुझाउदै जाने समेत बताए ।

गतवर्ष ३० असोजमा प्रमाणित हुँदा १ भदौ २०७५ बाट यो ऐन लागु हुने भनेरै तोकिएको थियो । तर लागू हुने समय आउन एक साता भन्दा कम समय बाँकी रहँदा मात्रै चिकित्सकहरुले नियमका बारेमा विरोध जनाउन थालेका हुन् ।

सरकारले भने करीब एक बर्ष अघि नै संसदले पास गरेको नियमलाई यतिवेला विरोध शुरु गर्नुले आश्चर्य भएको बताएको छ । यद्धपी उसले चिकित्सकले उठाएका माग संवोधन गर्दै संसोधन गर्न आफूहरु तयार रहेको र सो प्रक्रिया समेत अघि बढेको भन्दै विरोधका कार्यक्रम स्थगित गर्न आग्रह समेत गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *