पाल्पा : जीर्ण स्वास्थ्य चौकीबाट सेवाप्रवाहमा समस्या

पाल्पा, २४ जेठ । निस्दी गाउँपालिका–२ मा रहेको सहलकोट स्वास्थ्य चौकीको भवन जीर्ण हँुदा सेवा प्रवाहमा समस्या परेको छ ।

जीर्ण भवनमा बसेर बिरामीलाई सेवा दिन स्वास्थ्यकर्मीलाई अत्यन्तै समस्या छ । झण्डै साढे दुई दशक अगाडि निर्माण भएको स्वास्थ्य चौकीको भवन २०७२ को विनाशकारी भूकम्पले पनि ठूलो क्षति पु¥याएपछि झनै समस्या थपिएको छ । सामान्य हावाहुरी चलेका बेला जीर्ण भवनमा बसेर सेवा दिन अत्यन्तै डर भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

दुईतले तीन कोठा रहेको जीर्ण स्वास्थ्य चौकीभित्र बसेर उपचार सेवा लिन जाँदा पनि डर र त्रास भइरहने स्थानीय दानबहादुर थापा बताउछन्। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भवन पुनःनिर्माणमा ढिलासुस्ती हँुदा गाउँका जनताले सहज सेवा पाउन नसकेको थापाको भनाइ छ ।

स्वास्थ्य चौकीका प्रमुख एवं सिनियर अहेव जगत थापाले भवन चर्किएपछि केही समय महिला जागरण केन्द्रको भवनबाट सेवा प्रदान गरेपनि एउटै कोठाबाट व्यवस्थापन गर्न गाह्रो भएपछि पुनः चर्किएको कोठाबाट सेवा दिँदै आएको बताउछन् । भवन पुनःनिर्माणका लागि सम्बन्धित निकायमा माग गरेपनि अहिलेसम्म सुनुवाइ नभएको थापा बताउछन् ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष जैसरा दर्लामीले स्थानीय तहको बजेटले भवन निर्माण सम्भव नभएकाले ठूलो धनराशिको आवश्यक पर्ने हुँदा भवन निर्माणमा समस्या भएको बताइन् ।

स्वास्थ्य चौकीको भवन पुनःनिर्माणका लागि स्थानीयवासीले साढे चार रोपनी चार आनाको जग्गा व्यवस्था गरिसकेका छन् । तर सरोकारवाला निकायको बेवास्ताको कारण निर्माणको कुनै योजना पर्न सकेको छैन । यस स्वास्थ्य चौकीबाट साविक सहलकोट गाविसभित्रका नौवटै वडा र झिरुवास गाविसका वडा नं ६ र ७ का स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *