चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण हुँदै

92
Shares

सुर्खेत, ११ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका लागि चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण कार्य शुरु गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा पाठ्यक्रम निर्माण गर्न थालिएको हो । आज यहाँ आयोजित पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले चिकित्साशास्त्रका अब्बल व्यक्तित्वको जमघटबाट उत्कृष्ट पाठ्यक्रम निर्माण हुने विश्वास व्यक्त गरे ।

मुलुकका लागि बेरोजगारी बढाउने नभई गरिखाने शिक्षा आवश्यक रहेकामा मन्त्री रावलले जोड दिए । “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई यो प्रदेशको छाता स्वास्थ्य संस्थाका रुपमा विकास गरी राजधानी सुर्खेतमा शिक्षण अस्पताल निर्माण गर्नुपर्छ”, उनले भने ।

तीन सय शय्याको अस्पताल प्रतिष्ठान जुम्लामा बनिसकेकाले सुर्खेतमा हाललाई ४०० शय्याको अस्पताल निर्माणमा जोड दिएर राजधानीबाट सेवा लिने जनताको आवश्यकता परिपूर्ति गर्ने वचन उहाँले दिनुभयो । प्रतिष्ठानको दिगोपनाका लागि भूगोल, जनता र राजनीतिक अपनत्व आवश्यक रहेको उहाँको तर्क थियो ।

मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका सुपरिटेन्डेन्ट डा डम्बर खड्काले क्षेत्रीय अस्पताल शुरु भएको १२ वर्षसम्म ५० शय्यामै खुम्चिएको गुनासो गरे । क्षेत्रीय अस्पतालका लागि अहिले प्रतिष्ठान जुम्लाका डाक्टरको सहयोग प्राप्त भइरहेको जनाउँदै डा खड्काले अब डाक्टरहरु गरीबको घरदैलोमा पुगेर सेवा दिलाउन दायित्व बोध गराउने नीतिको आवश्यक छ भने ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रो डा भरत यादवले कर्णाली प्रदेशको स्वास्थ्य आवश्यकतालाई सम्बोधन हुनेखालको पाठ्यक्रम तयार गर्नुपर्ने सुझाव दिए। एमडी जनरल प्राक्टिक्स पाठ्ययक्रमको महत्व र इतिहासबारे जानकारी गराउँदै उनले विकटमा बसेर काम गर्ने डाक्टरहरुको कामको सराहना गरे।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन मोदनाथ मरहठ्ठाले एमडी जनरल प्राक्टिसलाई विशेष महत्व दिएर पाठ्यक्रम तयार गर्ने लक्ष्यका साथ नेपालभरिका विज्ञ चिकित्सबीच कार्यशाला गोष्ठी गरिएको बताए । डा मरहठ्ठाले भन्नुभयो, “विसं २०७५ को वैशाखदेखि मिडवाइफ्री तह सञ्चालन गर्दैछौँ र बिपिएच तह पाइपलाइनमा रहेको छ ।”

पाठ्यक्रम विकास समितिका संयोजक डा अरुण पौडेल, सदस्य सचिव डा सञ्जीव तिवारी, नेम्सका प्रो डा न्हुछेमान डंगोल, प्रतिष्ठान जुम्लाका प्रो डा धर्मराज श्रेष्ठसहित डाक्टरको टोलीबाट पाठ्यक्रम निर्माण भइरहेको छ । कार्यशाला गोष्ठीमा पाटन, नेम्स, बिपी कोइराला स्वास्थ्य विज्ञान, कर्णाली स्वास्थ्य विज्ञान र देशका अन्य प्रतिष्ठित अस्पतालका विज्ञ डाक्टरको सहभागिता छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *