शिक्षण अस्पताललाई करिब सत्तरी करोड सहयोग

काठमाडौँ, १३ पुस –  जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्यसम्बन्धी उपकरण सुधार परियोजनाका लागि रु ६९ करोड २० लाख अनुदान सहयोग प्रदान गर्ने सहमति गरेको छ ।

उक्त सहमति पत्रमा आज अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गरे ।

यसैगरी जाइकाले जापानको आर्थिक वर्ष २०१६ को अनुदान सहयोग योजनाअन्तर्गत नेपाल सरकारलाई रु ३२ करोड १० लाख अनुदान सहयोग गर्न सहमति जनाएको छ ।

सो सहमति पत्रमा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र जाइका नेपालका वरिष्ठ प्रतिनिधि हिरोयसु तोनोकावाले हस्ताक्षर गरेका थिए ।

सो अवसरमा अर्थ सचिव सुवेदीले जापान सरकारले नेपालको सामाजिक आर्थिक विकासमा गर्दै आएको सहयोगप्रति अभार व्यक्त गर्दै जाइकाको सहयोगपछि आउने नयाँ उपकरणले शिक्षण अस्पतालको स्वास्थ्य सेवा र शिक्षामा सङ्ख्यात्मक र गुणात्मक सुधार हुने बताए ।

राजदूत ओगावाले नेपाल र जापानबीच कूटनीतिक दौत्य सम्बन्धको ६० औँ वर्षगाँठ पुगेकोमा खुसी व्यक्त गर्दै सहयोग आदानप्रदानले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा दीपकप्रकाश महराले सर्जिकल, क्यान्सर, अर्थोपेडिक्स, प्याथोलोजि, गाईनोकोलोजिकल, रेडियोलोजिकललगायतका विभागसँग सम्बन्धित उपकरणको सहयोगपछि अस्पातालको स्वास्थ्य सेवामा सङ्ख्यात्मक र गुणस्तर वृद्धि हुने बताए ।

अस्पतालले गुणस्तरीय उपकरण आओस् भनेर सोहीअनुसारको प्रस्ताव पेस गरेको जानकारी गराउँदै उनले त्यस्ता आधुनिक उपकरणको जडानपछि स्वास्थ्य उपचार सेवा अझै सुनिश्चित हुने बताए । उपकरण सन् २०१७ को सेप्टेम्बरसम्म अस्पतालमा आइपुग्नेछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *