बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम आजबाट सुरु हुँदै

बैतडी, ७ पुस । बैतडीमा आज बिहिबारदेखि स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु हुने भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले बुधबार पत्रकारसम्मेलनको आयोजना गरी स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको बताए । उनले यसअघि देशका तीन जिल्ला कैलाली, बाग्लुङ र इलाममा सञ्चालन भईसकेको जानकारी दिदै यो कार्यक्रम यसबर्ष सुदूरपश्चिमका बैतडी र अछामसहित देशका २५ जिल्लामा विस्तार गरिने बताए ।

स्वास्थ्य बीमा कार्यक्रममा पाँचजनाको परिवारले रु दुईहजार पाँचसय जम्मा गर्नुपर्ने र एक वर्षसम्म रु ५० हजार उपचार निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।
यस्तै, पाँचजना भन्दा बढी परिवारका सदस्य भएमा रु चारसय २५ का दरले थप शुल्क तिर्नुपर्ने व्यवस्था छ । यसरी थपिने सदस्य संख्याको आधारमा बढीमा एक लाख सम्मको उपचार लिन सक्ने व्यवस्था छ ।

बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि ७० जना दर्ता कर्मचारी छनौट गरिएको र उनीहरुले प्रत्येक घरदैलोमा गएर स्वास्थ्य बीमाका बारेमा जानकारी गराउनाका साथै सदस्यता वितरण गर्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले जनाएको छ ।
पुस महिनाभरि दर्ता भएकाले फागुनदेखि स्वास्थ्य बीमाको सेवा पाउने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *