डा. केसीको अनसन आज बीसौँ दिन, स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
काठमाडौँ, १७ मंसिर – आमरण अनसनको बीसौँ दिन आइपुग्दा प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको उनका सहयोगी चिकित्सकहरुले जनाएका छन् । उनीहरुले डा. केसीलाई कुनै पनि बेला आइसियुमा लैजान पर्नसक्ने अवस्था आउनसक्ने भन्दै सतर्क अवस्थामा रहेको बताएका छन् ।
बरिष्ठताको आधारमा डीन नियुक्त नभएको भन्दै डा केसीले गत २८ कात्तिक देखि दशौँ अनसन सुरु गरेका थिए ।
रेडिजेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा. लिजन महर्जनका अनुसार डा. केसीको अवस्था एकदमै नाजुक छ । छोटो समयमा पटक पटक अनसन बसेको र यसपटक अनसन अवधी सबैभन्दा लामो भएकोले अवस्था गम्भीर बनेको डा. महर्जनले बताए । ‘एक पटक अनसन पछि रिकभर गर्न झण्डै तीन महिना लाग्छ तर सरले तीन महिनाको अवधी नपुग्दै छिटो छिटो अनसन बस्नु भएको छ त्यसैले पनि शरीरमा यसपटक बढी असर परेको छ,’ उनले भने । डा. केसीको हात खुट्टा बाउडिने, मुटुको चालमा गडबढी उत्पन्न हुने, छाती दुख्ने, अक्सिजन हुने जस्ता समस्या देखिएको डा. महर्जनले बताए ।
यता डा केसीको स्वास्थ्य अवस्था बिग्रदै जाँदा बार्तामार्फत छिटो निस्कर्ष निकाल्न दवाव परेपनि सफल हुन सकेको छैन् । हिजो अवेर रातीसम्म बसेको अनौपचारिक छलफलले समेत गति नलिएपछि बार्ता त्यत्तिकै स्थगित भएको हो ।
डीन नियुक्ति सम्वन्धी मापदण्ड बनाउदा कति कुरा नमिलेको र आफूहरुको राय समेत नलिएको भन्दै प्राध्यापक संघले आपत्ति जनाएपछि बार्तास्थगित भएको हो ।
स्रोतका अनुसार डा केसीको अनसनको विषय र यसलाई चाँडो निस्कर्षमा पुरयाउन प्रधानमन्त्री प्रचण्ड, कांग्रेस नेता शेरबहादुर देउवा लगयातका सत्तारुड दलका नेताहरुसंग समेत छलफल भएको छ ।
शिक्षामन्त्री डीआर पौडेल, स्वास्थ्य मन्त्री गगन थापा बार्ताटोलीसंग प्रत्यक्ष रुपमै रहेका छन् । ‘टोली हाम्रो भएपनि अहिले शिक्षा स्वास्थ मन्त्री मात्रै होइन, बहालवाला प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री समेत छलफलमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनुभएको छ। हरेक डेभलपमेन्ट उहाँहरुसमक्ष पुग्नेगर्छ’ सरकारी बार्ताटोलीका सदस्यले भने ।
सम्पर्क इमेल : [email protected]