एचआइभी सङ्क्रमित श्रेष्ठ पुनः सगरमाथा आरोहण प्रयासमा

aids

काठमाडौँ, १६ मंसिर –  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि एचआइभी सङ्क्रमितको तर्फबाट गोपाल श्रेष्ठ पुनः कस्सिएका छन्।

गत वर्ष पनि सगरमाथा आरोहणको प्रयास गरेका उनले वैशाख १२ गते गएको विनाशकारी भूकम्पले सोलुखुम्बुमा आफ्ना छ जना सहकर्मी गुमाउनाका साथै उनीआफै घाइते अवस्थामा काठमाडौँ फर्किएका थिए ।

२९औँ विश्व एड्स दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पूर्व ए डिभिजन फुटबलटोलीका खेलाडी श्रेष्ठले भने “एचआइभी सङ्क्रमित हुँदैमा आत्मबल खस्केको हुँदैन भन्ने कुरा विश्वलाई सिकाउनु छ, यही आत्मबलका साथ म पुनःआगामी वर्ष सगरमाथा चुचुरो चुम्न जाँदैछु ।”

पोखराका स्थायी बासिन्दा उनले अहिले मलाई माया र सद्भावभन्दा आर्थिक सहयोग चाहिएको छ । यसका लागि म रु २० लाख सङ्कलनको जोहोमा छु भने। सन् २०१७ को सगरमाथा आरोहण गर्ने याममा उनले सगरमाथा चढ्ने तयारी गरिरहेका छन्।

पाँच हजार माथिमा विभिन्न हिमाल आरोहण गरेको अनुभव आफूसित रहेको जानकारी दिँदै उनले अब एचआइभी सङ्क्रमितप्रति गरिने व्यवहार परिवर्तन नगर्ने प्रवत्ति अन्त्य गरिनु जरुरी छ भने ।

राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका अनुसार नेपालमा करिब ३९ हजार ३९७ एचआइभी सङ्क्रमित छन् । तीमध्ये पुरुषको सङ्ख्या २४ हजार ४४९ र महिलाको सङ्ख्या १४ हजार ९४८ छ ।

सन् २०३० सम्ममा एचआइभी/एड्स नियन्त्रण र रोकथाम हुन नसक्ने

नेपालले सन् २०३० सम्ममा एचआइभी/एड्स नियन्त्रण र रोकथाम गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न नसक्ने भएको छ । कार्यक्रममा एचआइभी सङ्क्रमित महासङ्घका अध्यक्ष अच्युतकृष्ण सिटौलाले सरकार र दाताले एचआइभी सङ्क्रमितको उपचार तथा रोकथामका लागि लगानी घटाउँदै जाँदा सो लक्ष्य पूरा नहुने बताए ।

उनले भने “सरकारी आँकडामा ३९ हजार ३९७ एचआइभी सङ्क्रमित भएको अनुमान छ । तीमध्ये करिब २६ हजार मात्र सरकारी सम्पर्कमा छन्, बाकी कहाँ कुन अवस्थामा के गरिरहेका छन् सरकारलाई अत्तोपत्तो छैन, यस्तो अवस्थामा मीठा भाषण र कागजी प्रगति देखाएर मात्र सङ्क्रमण दर कहाँ कम गर्न सकिन्छ र ।”

उनका अनुसार अहिले पनि एचआइभी सङ्क्रमितले एन्टिरेक्ट्रो भाइरल (एआरभी)औषधि नपाएर छटपटिरहनु परेको छ । तर केन्द्रले सन् २०१० को तुलनमा १४६ प्रतिशतले सो सेवाको पहुँच विस्तार भएको जनाएको छ ।

सन् २००७ मा नेपालमा एचआइभी सङ्क्रमितको सङ्ख्या ७० हजार पुगेको थियो भने सन् २००९ मा ६३ हजार ५२८ मा झरेको थियो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले एचआइभी/एड्सलाई प्राणघातक रोगबाट दीर्घरोगको रुपमा परिभाषित गरी यसको नियन्त्रण तथा उपचारमा जोड दिएको बताए ।

उनले स्वास्थ्य नीति र रणनीति दुवैले सबै एचआइभी सङ्क्रमितलाई एआरभी औषधिको सेवा पु¥याउने जाकारी दिँदै वर्षको एक दिन दिवस मनाइ बाँकी दिन सुतेर नबस्न मन्त्रालयका उच्च पदाधिकारीलाई आग्रह समेत गरे ।

स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्र उप्रेती र केन्द्रका निर्देशक डा. तरुण पौडेलले नेपालले सन् २०३० सम्ममा एचआइभी सङ्क्रमण न्यून गर्ने नीतिका साथ आफ्ना कार्यक्रम लक्षित गरेको बताए ।

सन् १९८८ मा पहिलो पटक नेपालमा पनि एचआइभी सङ्क्रमित देखा परेको थियो । सोही वर्षदेखि विश्वमा आजको दिनलाई एड्स दिवसका रुपम मनाउन सुरु गरिएको थियो । यस वर्षको ‘नारा हामी सबैको काम, एचआइभीको रोकथाम’ रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *