स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पतालहरुमा पनि सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौँ, १६ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पतालहरुमा पनि सञ्चालन गर्न सकिने गरी निर्णय गराउन मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ । स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले सम्भवत आज बस्ने बैठकमा सो प्रस्ताव पेश गर्ने छन् ।

यसअघि गत १५ जेठमा आएको बजेट तथा कार्यक्रममा १ साउन देखि स्वास्थ्य बीमा कार्यक्रम सामुदायिक र सहकारी स्वास्थ्य संस्थामा मात्रै लागू हुने उल्लेख थियो । त्यसपछि धमाधम निजी अस्पतालहरुले बीमा कार्यक्रम स्थगित गर्दै गए ।

यसले आम उपभोक्ता तथा बिरामीलाई ठूलो समस्या परेको थियो । किनभने कतिपय जिल्लामा सरकारी अस्पताल साना र निजी अस्पतालहरु ठूला थिए । बिरामीहरु ठूला निजी अस्पतालमा बीमाका माध्यमबाट उपचार सुविधा लिईरहेका थिए ।

‘सबैलाई स्वास्थ्यको पहुँच र बीमामार्फत उपचार हुने कुरामा निजी क्षेत्रलाई निषेध गरेर सम्भव नहुने भएपछि हामीले प्रस्ताव पठाएका हौँ’, स्वास्थ्य मन्त्री खापुङका विज्ञ सल्लाहकार डा रमेश ढकालले भने ।

उनले आज अपरान्ह बस्ने मन्त्रिपरिषदको बैठकले सम्भवत यस विषयमा निर्णय गर्न सक्ने बताए । उनले बजेटमा सहकारी र सामुदायिक अस्पतालमा मात्रै स्वास्थ्य बीमा लागू हुने भन्ने वाक्यमा निजी अस्पताल समेत थपेर प्रस्ताव पठाइएको बताए ।

त्यसो त स्वास्थ्य बीमा ऐनले बीमा कार्यक्रममा निजी क्षेत्रलाई निषेध गरेको छैन् । तर सरकारको नीति तथा कार्यक्रममा आईसकेपछि बोर्डले के गर्ने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सुझाव मागेको थियो ।

मन्त्रालयले नीति तथा कार्यक्रममा आएका कुरालाई मन्त्रिपरिषद बैठकबाट नै निर्णय गराउन उचित हुने भन्दै प्रस्ताव लगेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *