पित्तथैलीको क्यान्सर : कारण, रोकथाम र उपचार

– डा. राकेशकुमार शाह, कन्सल्टेन्ट ग्यास्ट्रोसर्जन

क्यान्सर भन्ने बित्तिकै मानिसमा एक किसिमको भय त्रास उपन्न हुने गर्दछ । हुन पनि कुनै व्यक्तिलाई क्यान्सर लाग्यो भने त्यो व्यक्तिलाई त अफ्टेरो पार्छ नै परिवारलाई समेत समस्या थोपर्ने गरेको यथार्त छ ।

क्यान्सर भएको बिरामी कति तड्पिरहेको हुन्छ भन्ने कुरा हामी चिकित्सकले प्रत्यक्ष देखिरहेका छौँ । बिरामी मात्रै होइन परिवार र आफन्तजन समेत पिडामा डुबेको  नजिक बाट निहालेका छौँ ।

तसर्थ क्यान्सर लाग्न नदिनु र क्यान्सरबारे सचेत हुनु र चासो लिनु सबैभन्दा उत्तम हुन्छ ।

पित्तथैलीको क्यान्सर के हो ?

पित्तथैली हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । यो अंग नासपाती आकारको झण्डै २०० मिलि अटाउने र कलेजोको ठिक तलपट्टी टाँसिएर बसेको हुन्छ । पित्तथैलीमा लाग्ने विभिन्न रोगहरु मध्ये पित्तथैलीको क्यान्सर एक प्रमुख रोग हो।

अरु अंगमा लाग्ने क्यान्सरको तुलनामा पित्तथैलीको क्यान्सर एकदमै डरलाग्दो हुन्छ । किनभने पित्तथैलीमा क्यान्सर भएपछि यसको उपचार एकदमै जटिल हुन्छ । अझ हाम्रो जस्तो देशमा क्यान्सरको डाईग्नोसिस नै ढिलो हुने भएकोले पनि प्रायजसो बिरामी उपचार गर्ने अवस्थामा आइपुग्दैनन् । समयमै उपचार सुरु भएन भने पित्तथैलीको क्यान्सर भएको बिरामीको आयू ६ महिना देखि एक वर्षको हुने गर्दछ । उपचार पश्चात पनि ५ प्रतिशत भन्दा कम बिरामी ५ बर्ष भन्दा धेरै बाँच्न मुस्किल छ।

पित्तथैलीको क्यान्सर विश्वका प्राय सबै मुलुकका व्यक्तिहरुमा देखिन्छ । तर केही मुलुक र क्षेत्रमा यसको दर घटीबढी देखिने गरेको छ । जस्तो कि, पश्चिमा मुलुकहरुमा यो रोग देखिदैन तर अमेरिकी र एसियाली क्षेत्रका व्यक्तिहरुमा यो रोग बढी देखिएको छ ।

एक तथ्यांक अनुसार पश्चिमा मुलुकमा यो रोग प्रत्येक एक लाख जनसंख्या मा २ जना भन्दा कम मा लाग्छ । तर चिली जस्तो मुलुकमा प्रतेक एक लाख जनसंख्यामा १२ जना भन्दा धेरैमा यो रोग लाग्ने गरेको पाइएको छ ।

नेपालमा पनि यो एकदम धेरै मानिसमा लाग्ने रोग हो। बास्तविक तथ्यांक नभएपनि विश्वमा नेपाल पित्तथैली को क्यान्सरको लागि छैटौ स्थान मा पर्दछ।

के कारणले लाग्छ पित्तथैलीको क्यान्सर ?

पित्तथैलीको क्यान्सर यहि कारणले लाग्या हो भनेर भन्न गाह्रो हुन्छ । किनभने क्यान्सर लाग्ने धेरै कारणहरु छन् । विश्वमा गरिएका विभिन्न अध्ययन् अनुसन्धानले प्रमुख कारण भनेको पित्तथैलीको पत्थरी (गलब्लाडर स्टोन) हो ।

यसैगरी पित्तथैलीमा मासु पलाउनुलाई अर्को प्रमुख कारण मानिन्छ। महिलाहरुलाई यो क्यान्सर पुरुषको तुलनामा धेरै देखिन्छ।

धुम्रपान, मध्यपान, मोटोपना शारीरिक निस्कृयता आदिलाई अन्य सहायक कारण मान्न सकिन्छ। केही अध्ययनमा बंशाणुगत कारण पनि पनि हुनसक्ने भनेर उल्लेख गरेपनि माथि उल्लेखित कारण नै मुख्य हुन्।

पित्तथैलीको क्यान्सर भएको कसरी थाहा पाउने ? लक्षण के हो ?

पित्तथैलीको क्यान्सर सुरुवाती अवस्थामा कुनै लक्षण देखिदैन । जब लक्षण देखा पर्न थाल्छ त्यतिखेर क्यान्सर फैलिसकेको अथवा बिकराल अवस्थामा पुगिसकेको हुन्छ। प्रायजसो बिरामीमा अन्य रोगमा पनि देखिने लक्षणहरु जस्तै पेट दुख्ने, वाक्वाकी लाग्ने, बान्ता हुने, कमलपित्त देखिने, पेटमा डल्लो भेटिने, खान मन नलाग्ने, दुब्लाउने आदि हुन सक्छ । तर, यी लक्षण देखिंदैमा क्यान्सर नै हो भन्ने पनि छैन ।

उपचार कसरी गर्ने ?
पित्तथैलीको क्यान्सरको मुख्य र सटिक उपचार भनेको शल्यक्रिया नै हो । मुख्यतः सिटीस्क्यान, एमआरआई गरेपछि रोग कति फैलेको छ भन्ने थाहा पाउन सकिन्छ । यूएसजी अथवा सिटीस्क्यानद्वारा हेर्दै ट्युमर भएको ठाउँमा सियो पसाएर कोषिकाहरुको परीक्षण पनि गर्न सकिन्छ । यसरी पित्तथैलीको क्यान्सर भएरनभएको थाहा पाउन सकिन्छ ।

क्यान्सर भएको रहेछ भने त्यसको अबस्था यकिन गरेर उपचार सुरु गरिहाल्नु पर्छ । शल्यक्रिया गर्नै नमिल्ने बिरामीलाई दुखाई भए कम गर्ने र पित्त धेरै भए त्यसलाई कम गर्न आन्द्राबाट पाइप राखी निस्काशन गराईन्छ । केही बिरामीलाई आवश्यकता हेरी किमोथेरापी, रेडियोथेरापी वा दुवै दिइन्छ ।

रोकथामका उपायहरु के हुनसक्छ ?

कुनै एक कारणले मात्र पित्तथैलीको क्यान्सर हुने नभएकाले कुनै एउटै विधिबाट मात्र रोकथाम गर्न सकिन्न। बिशेष गरि पित्तथैलीमा ढुंगा भए अप्रेसन गर्ने, टाइफोइड भएको भए पूर्ण उपचार गर्ने र मोटोपन भए घटाउनुपर्छ ।

समय समयमा चिकित्सकको सल्लाह बमोजिम आफ्नो स्वास्थ्य जाँच गर्ने, यसो गरेमा पित्तथैली क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *