सावधान ! ‘विन्टर डायरिया’ ले समाउला

सामान्यतया झाडापखला गर्मी तथा वर्षातको समयमा बढी हुने गर्छ । त्यसैले सर्वसाधारण यही समयमा बढी सतर्क हुने गर्छन । तर झाडापखला चिसो वा हिउद महिनामा पनि उत्तिकै देखा पर्ने गर्छ भन्ने कुरा कमैलाई थाह हुन सक्छ ।
चिसो वा हिउदको समयमा देखिने भएकोले यसलाई ‘वीन्टर डायरिया’ ( हिउदे झाडा पखला) भन्ने गरिन्छ । हामीले खासै चासो नराख्ने यही डाइरिया पाँच वर्ष मुनिका बालबालिकामा देखिने प्रमुख समस्या हो ।
विन्टर डायरियाबाट पाँच वर्ष मुनिका बालबालिका अत्यधिक विरामी हुने र मृत्युको मुखमा धकेलिने समय पनि यहि हो । यो नेपालको मात्रै होइन विश्वभरीको नै समस्या हो ।
रोटाभाइरसको कारणले हुने यो विन्टर डायरिया पाँच बर्ष मुनिका केटाकेटीको प्रमुख मृत्युदर गराउने दोस्रो प्रमुख रोग हो । पहिलो मृत्युको कारक चाहि श्वासप्रश्वास संक्रमण मानिन्छ । डायरिया लागेर अस्पतालमा भर्ना भएकामध्ये करीब ३३ प्रतिशतलाई रोटाभाइरसको संक्रमण देखा परेको थियो ।
त्यसो त विन्टर डायरियाको नामले परिचित रोटा तथा नोरो भाईरस चिसो मौसममा मात्रै होइन अन्य मौसममा पनि देखिन्छ । त्यस्तै केटाकेटीलाई मात्रै नभई यो भाइरस हाल वयस्कहरुमा कडा रुपमा देखा पर्दै गएको विभिन्न साइन्स जर्नलहरुले उल्लेख गरेका छन् ।केही समय अघि साइन्स जर्नलमा प्रकाशित मेरो एउटा लेखमा पनि रोटा भाइरसको संक्रमण बालबालिकामा मात्रै होइन यसले बयस्कहरुलाई पनि प्रभावित बनाएको छ भनेर उल्लेख थियो । त्यति बेला नै मैले नेपालमा रोटाइभाइरस बयस्कहरुमा पनि देखियो भनेर प्रमाणित गरिसकेको थिएँ । बयस्क रोटाभाइरसको नामले समेत चिनिने यो भाइरस हाल चीन, भारत, वंगलादेश तथा म्यानमारमा देखा परिसकेको छ । आगामी दिनहरुमा अरु देशमा पनि देखा पर्दै जानेमा दुविधा देखिदैन ।
कसरी सर्छ रोटा भाइरस ?
यो भाइरस संक्रमित खानेकुराको माध्यमबाट एक अर्का व्यक्तिमा सजिलै सर्छ । त्यस्तै यो भाइरस घरको सरसमान तथा बाताबरणमा पनि केही समय रहन सक्ने भएकोले त्यस्ता बस्तु बथा सरसमानको प्रयोग गर्दा सरसफाइमा जोड दिनुपर्छ । त्यस्तै संक्रमित बच्चाको दिसाबाट बढि फैलिने गर्दछ । रोटाभाईरसबाट धेरै सिकिस्त भएको बेला र सामान्य अवस्थामा फर्केको तीन दिन सम्म पनि दिसाको माध्यमबाट यो भाइरस फैलिन सक्छ । त्यसैले बच्चाको दिसापिसाव शौचालयमै व्यवस्थापन गर्नुपर्छ र व्यवस्थापन पछि सावुन पानीले अनिवार्य रुपमा हात धुनुपर्छ ।
यो भाइरसको लक्षण के हो ?
सामान्य त भाइरसको संक्रमण भएको दुई दिनमा लक्षणहरु देखा पर्ने गर्दछ । पानी जस्तो पखाला संगै वान्ता तथा ज्वरो आउन सक्दछ । पेट पनि संगै दुख्ने गर्दछ । यो झन्डै तीन देखि आठ दिन सम्म देखा पर्न सक्दछ । त्यसबाहेक पिसाव कम लाग्नु, मुख सुक्न, तथा रिगटा लाग्नु जस्ता अति जलवियोजन हुँदा देखिने लक्षणहरु पनि देखा पर्न सक्दछ । तर लक्षणहरु सबैमा कडा नहुन पनि सक्दछ । तर यदि रोटाभईरसले पहिलो पल्ट संक्रमण गरेको भए त्यो कडा हुन सक्दछ ।
जति कम उमेरको बच्चा छ भाइरसको संक्रमण उतिनै कडा हुन्छ । तर जति बच्चाको उमेर बढदै गयो कडापन कम हुँदै जान्छ ।
वयस्कहरुमा यो संक्रमण जिन्दगीमा पटक पटक लागेता पनि समान्य रुपमा मात्र लक्षणहरु देखा पर्न सक्दछ । तर यो मान्यतामा केही फरक रुप देखिदै आएको छ ।
मैले गरेको अनुसन्धानले नेपालमा वयस्क रोटाभाईरसले झाडापखालाको कारण अस्पताल भर्ना गराएको तथ्यांक प्रकाशित गरेको थियो । तसर्थ बालबालिका मात्र नभई हिउँदमा कडा डायरिया हुने बयस्कमा पनि रोटाभईरस हुन सक्ने अनुमान गर्न सकिन्छ ।
के गर्ने ?
यसको बिशेष औषधिहरु उपलब्ध छैन । शरीरमा पानीको मात्रा कम हुने भएकोले प्रसस्त पुनर्जलिय झोल दिनु पर्दछ । तर वान्ता पनि संगसंगै भएमा नशा मार्फत स्लाइन पनि दिनु पर्दछ ।
अहिले बजारमा रोटाभाईरस बिरुद्धको प्रभावकारी खोपहरु उपलब्ध भईसकेको छ । हाल योे खोप महंगो छ तसर्थ सबै जनताको पहुचमा यो खोप नपुग्न सक्छ । तसर्थ राज्यले यस प्रति चासो दिनु पर्दछ । र अन्य नियमित खोप कार्यक्रममा यो खोपलाई पनि समावेस गरिनुपर्छ । किनकी नेपालमा झन्डै ३३ प्रतिशत बालबालिकाको अस्पताल भर्ना गराउने डायरियाको कारण रोटाभाईरस भएको यो पंक्तिकारको अनुसन्धानले देखाएको थियो ।
रोगबाट बच्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा सरसफाईमा ध्यान दिनु पर्छ । यो संक्रमितको दिसाबाट सजिलै सर्ने भएकोले बालबालिकाको दिसा शौचालयमा मात्रै फाल्नु पर्छ । त्यस पश्चात अनिवार्य साबुन पानीले हात धुनु पर्दछ । त्यसले अर्को स्वास्थ्य बालबालिकालाई संक्रमणबाट बचाउन सकिन्छ ।
# डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत छन्